प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका हुन्।
'तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइसकिन्छ, उनले भने, 'चाहे हामी अनुदानको रुपमा प्राप्त गरौं। जस्तो यसपल्ट प्राप्त गरेका छौं। चाहे हामीले किन्न परोस्। सबै नेपालीलाई निशुल्क र भेदभावबिना यो खोप उपलब्ध गराइनेछ।'
माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न प्रधानमन्त्री ओलीले आह्वान गरेका छन्। उनले सबै नागरिकलाई यो खोप निशुल्क उपलब्ध हुने स्पष्ट पारेका छन्। बुधबारबाट सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिँदैछ। यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ।
नेपालमा कोभिड-१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाएका हुन्। नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान सहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।