संगीतप्रेमी बलिउड स्टार

एजेन्सी     २४ माघ २०७७, शनिबार
संगीतप्रेमी बलिउड स्टार

रणवीर सिंह

अभिनेता रणवीर सिंहको अभिनयको धेरैले प्रशंसा गर्ने गरेका छन्। अभिनय गर्न माहिर उनी संगीतप्रेमी पनि हुन्। आफूमाथि सुट गरिएका गीतमा उनी आफ्नै स्वर भर्न चाहन्छन्। ‘मलाई संगीतको सोख छ,’ एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो यो सोख अहिलेको होइन, सानैदेखिको हो। फिल्ममा अभिनय मात्र गर्न चाहन्नँ, त्यसको निर्देशन, लेखन पनि गर्न चाहन्छु। साथै, फिल्ममा भएका गीत आफैँ गाउन चाहन्छु। मेरो यो सपना कहिले पूरा हुन्छ, थाहा छैन। तर, एक दिन  अवश्य पूरा हुनेछ।’

प्राची देसाई

टेलिभिजनको सानो पर्दाबाट ठूलो पर्दामा लम्किएकी अभिनेत्री हुन्, प्राची देसाई। उनले भारतीय टेलिभिजन च्यानल जीटीभीबाट प्रसारण हुने सिरियल ‘कसम से’ मा काम गरेकी थिइन्। सन् २००८ मा फिल्म ‘रक अन’ बाट उनले बलिउडमा डेब्यू गरिन्। ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘बोल बच्चन’ लगायत फिल्ममा काम गरेकी उनी बाल्यवस्थामै गिटार बजाउन सिक्न चाहन्थिइन्। तर, अवसर पाइनन्। ‘बाल्यकालमा गिटार बजाउन सिक्न चाहन्थेँ,’ एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म सानो छँदा आमाले मलाई डान्स क्लासमा र बहिनीलाई गिटार क्लासमा हाल्नुभएको थियो। तर, मेरो ध्यान गिटारमा हुन्थ्यो। जसले गर्दा मैले डान्स राम्ररी सिक्न पाइनँ।’ आफ्नो बाल्यकालको चाहना यी अभिनेत्रीले अब पूरा गर्ने भएकी छिन्। ‘अहिले मसँग समय छ,’ उनले भनेकी थिइन्, ‘आफ्नो त्यही इच्छा पूरा गर्नेछु।’

शाहरुख खान

केही समयअघि बलिउडका किङ खान अर्थात् शाहरुख खानले आफ्नो ‘विस लिस्ट’ ट्वीटरमा सार्वजनिक गरेका थिए। उनले सिक्न चाहेका कामको सूचीमा गिटार बजाउनु, खाना पकाउनु, ब्याकफ्लिप गर्न सिक्नुलगायत रहेका थिए। ‘म गिटार बजाउन, कुकिङ गर्न, ककटेल बनाउन र फेरि ब्याकफ्लिप गर्न सिक्न चाहन्छु,’ उनले ट्वीटरमा पोस्ट गर्दै लेखेका थिए, ‘म यस्तो गीत गाउन चाहन्छु, जसलाई सुनेर संसारका हरेक आमा र छोरीको ओठमा मुस्कान आओस्।’ शाहरुखले किताब लेख्ने इच्छा पनि व्यक्त गरेका छन्।

तब्बू

अभिनेत्री तब्बू पनि संगीतप्रेमी हुन्। ‘संगीतले मलाई आनन्दको अनुभूति गराउँछ,’ एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘गाउने रहर पहिलादेखि नै थियो। केही समययता आफ्नो यस सोखतिर ध्यान दिइरहेकी छु।’ धेरै राम्रो नगाए पनि ठीकठाक गाउने तब्बूले बताएकी छिन्। ‘मेरो अबको लक्ष्य गिटार सिक्नु हो,’ उनले भनिन्, ‘आफ्नो संगीतमा गाउनुभन्दा राम्रो कुरा अरू के हुन सक्छ ?’

पूरब कोहली

अभिनेता, मोडल र पूर्व भिडियो जकी हुन्, पूरब कोहली। उनले थुप्रै टेलिसिरियलमा काम गरेका छन् भने रियालिटी सो कार्यक्रम होस्ट गरेका छन्। ‘रक अन’, ‘रक अन २’, ‘वो लम्हे’ लगायत फिल्ममा काम गरेका छन्। उनलाई माउथ अग्र्यान सिक्ने चाहना छ। ‘म माउथ अग्र्यान बजाउन सिक्न चाहन्छु,’ भारतीय मिडियासँग कुराकानी गर्दा उनले भनेका थिए, ‘आफ्नो स्तरबाट मेहनत पनि गरिरहेको छु।’ युट्युबमा भिडियो हेरेर माउथ अग्र्यान बजाउन सिकिरहेको उनले बताएका थिए। ‘एक जना साथीले पनि माउथ अग्र्यान सिकाउन मद्दत गरिरहेको छ,’ उनले भने, ‘तर, अब कुनै व्यावसायिक व्यक्तिको मद्दत लिने सोचमा छु।’

प्रतिक्रिया