भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन 

राम्रो अनलाइन     २२ फागुन २०७८, आइतबार
भारतीय सहयोगमा प्रहरीको विद्यालय भवन 

 

काठमाडौँ– भारतीय दूतावासको सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास र शिक्षक भवन निर्माण सम्पन्न भएको छ। उक्त नयाँ भवनको उद्घाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी र भारतीय दूतावासका प्रथम सचिव नविन कुमारले  बुधबार उद्घाटन गरेका हुन्। 

उक्त कार्यक्रममा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।

 

 

भारत सरकारको आर्थिक सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा  नयाँ भवनहरुको निर्माण भएका हुन्। सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत छन्। सन् २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ।

भारतीय सहयोगमा ४ सय ६७ वटा परियोजनाहरु सम्पन्न भइसकेको छ। ती परियोजनाहरु मध्ये कैलाली जिल्लाका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना रहेका छन्। यसको अलावा, भारत सरकारले कैलाली जिल्लाका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी छ। भारत(नेपाल विकास सहकार्यअन्तर्गत निर्माण भएको यस नवनिर्मित संरचनाले शिक्षाको क्षेत्रमा नेपाल सरकारका प्रयासहरुलाई अझ सशक्त बनाउन भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

 

प्रतिक्रिया