एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राम्रो अनलाइन     १७ चैत २०७८, बिहिबार
एआइजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट


काठमाडौँ– सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
     
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहीबार डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डिआइजी कार्कीको रिट दर्ता भएको छ । आइतबारका लागि पेसी तोकिएको छ । डिआइजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ ।  
 

प्रतिक्रिया