आदरणीय मतदाता दिदीबहिनी तथा दाजुभाइहरू
वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्यका लागि मतदान हुने दिन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताहरूले आप्mनो मताधिकार प्रयोग गर्ने महत्वपूर्ण दिन । निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्ने अवसर पाएको गौरवपूर्ण दिन । म यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आप्mनो मताधिकार प्रयोग गर्नु हुन सम्पूर्ण मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक अपिल गर्दछु ।
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानून बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा पद, पैसा र पहुँचबाट प्रभावित नभई एवम् निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आप्mनो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावहरूप्रति हार्दिक आव्हान गर्दछु ।
निर्वाचनका सबै तयारीहरू पूरा भइसकेका छन् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाइएको र सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ । कुनै पनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणपत्र मध्ये कुनै प्रमाणको आधारमा विवरण यकिन गरी मतदान गर्न पाउने आवश्यक प्रबन्ध मिलाइएको छ । तसर्थ, आयोगको स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गर्ने उद्देश्य पूरा गर्न निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण तयार गर्ने कार्यमा सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाहरुको सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अन्त्यमा, कसैको प्रलोभन र प्रभावमा नपरी आपूmलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाई आपूmले प्रदान गरेको अमूल्य मत बदर नहुनेगरी सही तरिकाले निर्धक्क भएर मतदान गर्नुहुन र मतदान कार्यलाई सम्पूर्ण रूपले सफल बनाई दिनुहुन म सबै मतदाताप्रति हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।
दिनेश कुमार थपलिया
प्रमुख निर्वाचन आयुक्त