लय बाँडिरहेका एक रिदमिस्ट

शिशिर वैद्य     ०३ फागुन २०७७, सोमबार
लय बाँडिरहेका एक रिदमिस्ट

संगीतकार प्रकाश गुरुङ आफ्नो जमानाका टप रिदमिस्ट हुन्। २५ वर्षयता साधना कला केन्द्रमा संगीत सिकाइरहेका छन्। अनुशासनमा कठोर तर मनका कोमल छन्। संगीतका विद्यार्थीलाई लय बाँडिरहेका छन्। 


 

‘गज्जबको ठाउँ थियो, काठमाडौँ। जाडोमा हिउँ पर्ने।  धान फल्ने, सुन्तला र आँप पनि फल्ने। हिउँ पर्ने ठाउँमा सुन्तला कहीँ फल्छ ? थिएन त गज्जब ?’

आफू काठमाडौँ छिर्दाको बखत सम्झिए, प्रकाश सरले। ‘प्रकाश सर’ अर्थात् प्रकाश गुरुङ। गायक तथा संगीतकार उनी आफ्नो जमानाका ‘टप रिदमिस्ट’ हुन्।  जन्मथलो दार्जिलिङमा निकै चर्चित थिए। सात कक्षा पढ्ने बेलामै उनी तबला र गायनमा पोख्त थिए। 

योञ्जन संगीतका ‘प्रथम गुरु’

गायक तथा संगीतकार गोपाल योञ्जनलाई उनी आफ्नो संगीतको प्रथम गुरु मान्छन्। योञ्जनसँगको भेटलाई एक सन्जोग ठान्छन्। दार्जिलिङमा रहेको उनको घरभन्दा अलिक माथि थियो, योञ्जनको घर। एक तिहारमा देउसी खेल्दै गाउँघर डुल्दाडुल्दै प्रकाश साथीसंगीसित उनको घर पुगेका थिए। तर, गोपाल योञ्जनको घर भनेर थाहा थिएन। योञ्जनलाई देउसी भट्याउँदै गरेको एक जना केटोको स्वर निकै मीठो लागेछ। ती ठिटा थिए, प्रकाश। तिहारको भोलिपल्टै उनलाई खोज्दै गाउँमा पुगेका थिए, विक्रम सुब्बा। उनलाई भेट्नेबित्तिकै भनेका थिए– ‘भाइ, तिमी त राम्रो गाउने रहेछौ, अलिक रियाज गर्‍यो भने राम्रो गायक बन्न सक्छौ, सिक्छौ ?’ 

सात कक्षा पढ्दै गरेका प्रकाश त्यतिखेर साथीहरूसँग खेल्दै थिए। अक्क न बक्क परे। ‘कसले सिकाउँछ मलाई ?’ सुब्बालाई प्रश्न गरे। जवाफ दिनुअघि नै सुब्बाले उनको हात समाइसकेका थिए– ‘लु हिँड मसँग, म भेटाइदिन्छु तिमीलाई सिकाउने मान्छे।’

गोपाल योञ्जनसँगको त्यो भेट नै प्रकाशको संगीत यात्राको सुरुवात थियो। संगीतको ज्ञान योञ्जनबाट अनि तबलाको ताल सुब्बाबाट सिके। त्यसो त उनको घरको वातावरण पनि सांगीतिक नै थियो। बुबा शास्त्रीय संगीतका ज्ञाता थिए। घरमा बुबाका साथीहरूको जमघट भइरहन्थ्यो। कोही गाउँथे, कोही बजाउँथे। फुच्चे प्रकाश उनीहरूको बीचमा बसेर सबैलाई हेरिरहन्थे। तिनै जमघटले आफूलाई संगीततिर डोर्‍याएको उनी ठान्छन्। 

‘स्वरसम्राट’सँग भेट

स्वरसम्राट नारायणगोपालसँग पनि भेट संयोगवश भएको उनी बताउँछन्। सम्झन्छन्, ‘एक दिन गोपाल दाइले भने, ‘भाइ, काठमाडौँबाट मीतज्यू आउनुभा’छ, म कलेज जानुपर्छ उहाँ गीत गाएर बस्नुहुन्छ। तिमी उनलाई साथ देऊ न ल।’’ नारायणगोपाल र योञ्जन मीत हुन भन्ने उनलाई थाहा थिएन। दार्जिलिङमा नारायणगोपाल निकै चर्चित थिए। निकै नाम सुनेका गायकसँग तबला बजाउन पाउने भएपछि उनी दंग परे। उनको तबलावादनबाट पहिलो भेटमै नारायणगोपाल पनि दंग परे। ‘बजाउँदाबजाउँदै हार्मोनियम रोकेर उहाँले ‘अरे भाइ तिमी त सानै छौ, तबला त गज्जब बजाउँदो रहेछौ त,’ भन्नुभएको थियो,’ प्रकाश सम्झन्छन्, ‘म तबला बजाउने, नारायण दाइ हार्मोनियममा औँला नचाउँदै गीत गाउने। दिन बितेको पत्तै पाएनौँ।’ 

त्यो भेटपछि नारायणगोपालले प्रकाशलाई छाडेनन्। उनी दार्जिलिङमा जता–जता कार्यक्रम गर्थे, प्रकाश पनि साथै हुन्थे। गोपाल योञ्जन, नारायणगोपाल, नगेन्द्र थापा, चतुर्भुज आशावादीलगायतसँग विराटनगर, भद्रपुर, दार्जिलिङ, खर्साङ, सिलिगुडी, असम, सिलोङ आदि ठाउँमा गरेको एकमहिने सांगीतिक टुरले उनीहरूको सम्बन्धलाई झन् गहिरो र आत्मीय बनायो। नारायगोपालले काठमाडौँ आउन गरेको आग्रह हाँसेरै टारेका थिए प्रकाशले। ‘दार्जिलिङ निकै प्यारो लाग्थ्यो,’ उनी भन्छन्, ‘आईए पढ्दै थिएँ। कता काठमाडौँ जानुजस्तो लाग्यो त्यतिखेर।’ 

२०२९ सालमा फेरि अर्को संयोग जुर्‍यो। लोकबहादुर गुरुङ काठमाडौँ जाँदै थिए। पढाइ सक्काएर प्रकाश बिदामा थिए। ‘लोकबहादुर दाइले काठमाडौँ घुम्न जाने हो ?’ भनेर सोध्नुभयो,’ उनी भन्छन्, ‘नजिकका नाताका दाइले घुम्न जाउँ भनेपछि उहाँको पछि लागेर काठमाडौँ आइपुगेँ।’ 

जीवनको ‘टर्निङ प्वाइन्ट’

काठमाडौँ आएको भोलिपल्ट उनी रानीपोखरीछेउमा बसेर शहरको रमिता हेरिरहेका थिए। अचानक कसैले उनको कुम कोट्यायो। फर्केर हेर्दा आँखाअगाडि थिए, स्वरसम्राट। ‘कहिले आ’को काठमाडौँ ?’ नारायणगोपालले सोधे, ‘गज्जब भो नि !’ त्यसपछि ट्याक्सीमा दुवै जना लाजिम्पाटको होटल मनास्लु पुगे। होटलभित्र हलमा टुरिस्ट सोका लागि रिहर्सल चलिरहेको थियो। नारायणगोपालसँगै प्रकाश हलमा छिर्दा रिहर्सल गरिरहेका गोपाल योञ्जन, चतुर्भुज आशावादी चकित भए। ‘गोपाल दाइ चकित हुँदै परैबाट कराए ‘अरे ! खोजेको मान्छे नै पो आइपुग्यो त कहाँबाट !’’ प्रकाश भन्छन्। उनीहरूलाई प्रकाश जत्तिको परिपक्व रिदमिस्ट खट्किरहेको थियो। ‘काठमाडौँ घुम्न आएको थिएँ,’ उनी भन्छन्, ‘तर, नारायण दाइसँग भएको त्यो भेट जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।’ 

मनास्लु होटलमा एक हप्ता कार्यक्रममा अल्झिएपछि नारायणगोपालले उनलाई रेडियो नेपाल लगे। त्यहाँ उनका चार वटा गीतको रेकर्डिङ हुँदै थिए। रेडियो नेपालको स्टुडियोबारे प्रकाशले निकै सुनेका थिए। अनेक बाजा बजाउन जान्ने भएकाले स्टुडियोमा बाजा बजाउने मौका पाउँदा छाडेनन्। केही समय रेडियोमै अल्झिए। 

उतिखेर काठमाडौँमा हिप्पीहरूको जमाना थियो। झोछेँ, भीमसेनथान, वसन्तपुरतिर हिप्पी खूब देखिन्थे। प्रकाशले हिप्पीको संगत गरेनन्। तर, झोछेँका अँध्यारा क्याबिन चाहिँ खूब चहारे। ‘खूब खाइयो नि त्यो जमानामा, खूब धुवाँ उडाइयो,’ उनी भन्छन्, ‘हिप्पीहरूको संगत चाहिँ गरिएन तर आफँै हिप्पीजस्तो थिएँ। गज्जबको लाइफ थियो।’ 

संयोगैसंयोग

उनी काठमाडौँमा व्यस्त भए। ‘काम पाउँदै गएँ,’ उनी सुनाउँछन्, ‘घर फिर्ने मेसो नै मिलेन।’ यसैबीच बुबा बिरामी भएको खबर आयो। अनि, उनी दार्जिलिङ फर्किए। ‘घर फर्केको केही समयमै बुबा बित्नुभयो,’ उनी भन्छन्, ‘त्यहाँ मन लागेन, फेरि काठमाडौँ फर्किएँ।’ यहाँ फर्किएलगत्तै गोपाल योञ्जनले उनलाई पोखरामा खुलेको कल्चर सेन्टर हेरिदिन आग्रह गरे। उनी पोखरा हानिए। पोखराका युवाको गीत–संगीत प्रतिको लगावले दुई वर्ष उतै भुल्लिए। ‘साथीभाइको संगतमा हरेक साँझ रमझम हुन्थ्यो,’ उनी भन्छन्, ‘एक दिन झस्किएँ ‘हैट ! यसरी त जीवन बर्बाद भइहाल्छ नि !’ भन्ने लाग्यो। त्यसै दिन कसैलाई केही नभनीकन फर्किएँ।’

पोखराबाट फर्किएको भोलिपल्ट प्रज्ञा प्रतिष्ठानमा साथीभाइ भेट्न गए। गीत विभागका निर्देशक अम्बर गुरुङ थिए। वाद्यवादनका निर्देशक थिए, गोपालनाथ योगी। गोपालनाथले प्रज्ञाको प्रांगणमा उनलाई भेट्नेबित्तिकै भनेका थिए, ‘तपाईंजस्तो संगीतको राम्रो ज्ञान भएको मान्छे कता पोखरामा अल्झिएर बसेको ? प्रज्ञामा आउनुस्।’ यति भनी नसक्दै योगीले प्रकाशका नाममा आफैंले निवेदन लेखिसकेका थिए। सिफारिस पनि आफैंले गरे। अम्बर गुरुङलाई सिफारिस पत्रमा हस्ताक्षर गर्न लगाए अनि पठाए स्वीकृतिका लागि। प्रशासन प्रमुख थिए, लक्ष्मण लामिछाने। निवेदन तुरुन्तै स्वीकृत भयो। २०३७ सालमा प्रज्ञा प्रतिष्ठानमा भएको यो नियुक्तिलाई आफ्नो जीवनको अर्को संयोग मान्छन् उनी। 

प्रकाशको जीवनको अर्को संयोग बन्यो, एउटा पार्टीमा ओमविक्रम विष्टसँगको भेट। पार्टीमा रमझमका बीच ओमले गीत गाएका थिए। ओमको स्वरले उनको मन छोयो। प्रकाश भन्छन्, ‘संगीतकार र गायकको कम्बिनेसन मिल्नुपर्छ। नत्र, गीत राम्रो बन्दैन। सबैले सबैको स्टाइल समात्न सक्दैन। ओम र मेरो ठ्याक्कै मिल्यो।’ यी दुईको जोडीले थुप्रै हिट गीत दिए। ‘नभनिदेऊ’, ‘मेरो रहर ब्युँझिएर’, ‘सुनचाँदीभन्दा’ आदि। 

‘नभनिदेऊ’ गीत श्रीविक्रम राणाले लेखेका थिए। गीत माग्दा उनले पहिले त प्रकाशलाई पत्याएनन्। ‘तिमी सक्छौ र ?’ भनेर टार्न खोजे। तर, गीत कम्पोज भएर ओमले गाएर हिट भएपछि राणा पनि दंग परेका थिए। प्रकाश र ओमको जोडीका झण्डै एक दर्जन गीतले बजार ततायो। त्यस्तै, सुक्मित गुरुङसँगको कम्बिनेसनले पनि नेपाली गीत–संगीत क्षेत्रमा तरंग ल्यायो। प्रकाशको कम्पोजिसनमा थुप्रैले गीत गाए। मधु क्षत्री, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, उदित नारायण, कविता कृष्णमूर्ति, खेम गुरुङ, दीपक लिम्बू, जुना प्रसाईं, प्रास्ना शाक्य, रिमा गुरुङ आदिले उनको संगीतमा गीत गाए। 

काठमाडौँमा अल्झिएका प्रकाश

प्रकाश आफ्नो संगीतलाई ‘पप’ भन्न रुचाउँदैनन्। ‘पप के हो ? जान्दिनँ,’ उनी भन्छन्, ‘मैले आधुनिक नेपाली संगीतमा अलिकति ट्वीस्ट गरेर अल्ट्रामोडर्न अर्थात् अत्याधुनिक स्टाइल भित्र्याएको हुँ।’ साँझ होटलमा, बिहान विश्वनिकेतन स्कुलमा, दिउँसो रेडियो नेपालमा भ्याइनभ्याइ थियो उनलाई। काठमाडौँमा अल्झिएका उनी ३५ वर्षसम्म परिवारको सम्पर्कमा आउन पाएनन्। अहिले दार्जिलिङमा उनका कोही छैनन्। ‘दाजु दुवै बितिसके,’ उनी भन्छन्, ‘दिदीबहिनी छन्। टीका थाप्न हरेक वर्ष तिहारमा जान्छु।’ ६५ वर्षीय उनी २५ वर्षदेखि साधना कला केन्द्रमा संगीत सिकाइरहेका छन्। अनुशासनमा कठोर तर मनका कोमल छन्। आफूले जानेका कुरा बाँड्नमा गर्व लाग्ने उनी बताउँछन्। भन्छन्, ‘आफूले जे जानेको छु, त्यो बाँड्न पाए पो नेपाली गीत–संगीतको भविष्य उज्ज्वल हुन्छ। यहाँ सिक्न चाहने धेरै छन् तर राम्रो सिकाउनेहरू छैनन्। त्यही कमी पूरा गर्ने कोसिस गरिरहेको छु।’ 

प्रतिक्रिया