‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई राहत 

राम्रो अनलाइन     २१ चैत २०७९, मङ्गलबार
 ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई राहत 

 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो एक ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट राहत मिलेको छ । मुम्बई सेसन कोर्टले सोमबार सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरे र शिल्पाबीच भएको चुम्बन प्रकरणमा सफाइ दिने अदालती आदेशविरुद्ध दायर याचिकालाई खारेज गरिदिएको छ ।

अभिनेता गेरेले एक सार्वजनिक कार्यक्रमको स्टेजमा शेट्टीलाई सबैको अगाडि चुम्बन गरेका थिए । त्यसपछि शेट्टीविरुद्ध मुद्दा दर्ता भएको थियो । अतिरिक्त सेसन न्यायाधीश एससी जाधवले सफाइ दिने अदालतको आदेशविद्धको निवेदनलाई खारेज गरेका हुन् । यो आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

सार्वजनिक कार्यक्रममा चुम्बन गर्ने यो घटना १६ वर्ष पुरानो हो, जुन १५ अप्रिल सन् २००७ मा राजस्थानमा आयोजित एड्स सचेतना कार्यक्रममा भएको थियो । अभिनेता गेरेले स्टेजमा सबैका अगाडि शेट्टीलाई चुम्बन गरेका थिए । त्यसपछि भारतका धेरै ठाउँबाट घटनाविरुद्ध आवाज उठेको थियो । मानिसले यसलाई अश्लील र देशको संस्कृतिको अपमान भएको भन्दै विरोध गरेका थिए ।

गेरे र शेट्टीविरुद्ध राजस्थानमा भारतीय दण्ड संहिता ९आईपीसी० र सूचना प्रविधि ऐनको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । सन् २०१७ मा सर्वोच्च अदालतको आदेशमा मुद्दा मुम्बईमा सारिएको थियो । जनवरी २०२२ मा म्याजिस्ट्रेट अदालतले शेट्टीलाई आरोपबाट सफाइ दियो । उनी अभिनेता गेरेको कार्यको सिकार भएको अदालतको फैसला थियो ।

प्रतिक्रिया