काठमाडौँ–नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्थानीय तहले दिगो विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । टोखा नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले स्थानीय तहले ५०औँ वर्षलाई सोचविचार गरेर विकासको खाका अगाडि सार्नुपर्ने बताए । “काठमाडौँभित्रको विकास झारा टार्ने खालको हुँदै गएको छ, यसलाई अन्त्य गरी दिगो विकासको अवधारणालाई अगाडि बढाउनुपर्छ”, उनले भने।
काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले मेलम्ची खानेपानी आयोजना तलमाथि नभए एक वर्षभित्र काठमाडौँभित्र खानेपानीको समस्या समाधान हुने बताए । उनले टोखा वडा नं ६ को खानेपानी समस्या समाधान गर्नका लागि रु एक करोड १५ लाखमा डिपबोरिङ निर्माण गर्न लागिएको उल्लेख गरे।
‘काठमाडौँको उत्तरी क्षेत्र टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्र खानेपानीको समस्या समाधानका लागि शिवपुरी जलाधार क्षेत्रमा भएका पानीका मुहानलाई चण्डेश्वरी र मुहानपोखरीमा सङ्कलन गरेर वितरण गर्न म लागिपरेको छु’, उनले भने, ‘उक्त कार्यका लागि काठमाडौँ क्षेत्र नं ४ र ६ का सांसदहरूसँग समेत छलफल भइरहेको छ ।’
प्रतिनिधिसभा सदस्य पौडेलले सबै प्रशासनलाई मितव्ययी अपनाएर सञ्चालन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । स्थानीय तहले असारे विकास अन्त्य गर्नुपर्ने र सार्वजनिक जग्गाको संरक्षणका लागि स्थानीय तहले नै तारजाली लगाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नयाँ भवनबाट गुणस्तरीय सेवा सरल ढङ्गले प्रवाह हुने विश्वास व्यक्त गरे । उनले जनताको सेवामा सधैँ टोखा नगरपालिका कटिबद्ध भएर लाग्ने विश्वाससमेत दिलाए। ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्यसम्पादन व्यवस्थित हुन सक्दैन’, उनले भने।
कार्यक्रममा टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनाल पौडेलले नयाँ कार्यालय भवन निर्माणसँगै वडावासीलाई सहज ढङ्गले सेवा प्रवाह गर्न सकिने विश्वास व्यक्त गरे । उनले वडा कार्यालय भवन निर्माणमा सहयोग र समन्वय गर्ने सबैलाई धन्यवादसमेत दिए । टोखा नगरपालिकाको रु दुई करोड २९ लाख ३८ हजारमा लागतमा उक्त भवन निर्माण गरिएको थियो । उक्त भवन विसं २०७८ साउन २२ गते शिलान्यास भएको थियो ।