काठमाडौं–विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले मुुलुकको विकास र समृद्धिका लागि दिगो शान्ति आवश्यक रहेकामा जोड दिएका छन्। महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनीहरुले अहिंसाका माध्यमबाट भएका राजनीतिक परिवर्तन मात्र स्थायित्व र दिगो हुने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले महात्मा गान्धिले क्रान्ति र परिवर्तन अहिंसाका माध्यमबाट पनि सम्भव छ भनी सफल प्रयोग गरेर देखाएको उल्लेख गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका निधिले भने, ‘सशस्त्र क्रान्ति तत्कालका लागि सफल होला, तर दिगो हुन सक्दैन्, नेपालमा पनि २०६२÷०६३ सालको आन्दोलन शान्तिपूर्ण रुपमा नै सफल भयो र त्यही आन्दोलनकै बलमा नेपालको संविधान जारी भएको हो ।’
कांग्रेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउदले महात्मा गान्धिले सत्य, निष्ठा र विचारका आधारमा भारतबाट तत्कालीन ब्रिटिस साम्राज्यलाई विस्थापित गर्न मात्र नभइ विश्वमा शान्तिको सन्देश दिन सफल भएको स्मरण गरे । उनले गान्धिको नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि योगदान रहेको उल्लेख गर्दै गान्धिका विचार र अहिंसाको सन्देश आज पनि विश्वका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।
कांग्रेसका अर्का नेता एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका परिवर्तन पनि शान्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताका आधारमा सफल भएको उल्लेख गर्दैै विकास र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो औल्याए। अहिलेको राजनीतिक उपलब्धी दलहरुबीचको एकताको परिणाम भएको उनको भनाई थियो ।
नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले जीवनभर अहिंसाका लागि लड्नुभएका गान्धिको जीवनको अन्त्य हिंसामा परेर भएको प्रसङ्ग उल्लेख गर्दै कुनै पनि अतिवादले विपद् निम्त्याउने धारणा राखे । उनले विविधतायुक्त नेपालमा पनि कुनै पनि अतिवादलाई टाउको उठाउन दिन नहुने बताए ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले पुनले शान्ति प्रक्रियाका अधिकांश काम सकिए पनि संक्रमणकालीन न्यायसम्बन्धी काम सम्पन्न गर्न सबै दल एकै ठाउँ उभिनुको विकल्प नरहेकोमा बताए । उनले मुलुकको शान्ति, स्थायित्व, विकास, सुशासन र आपसी सदभावका लागि दलहरु मात्र नभई सबै राष्ट्रिय शक्तिबीच सहकार्य हुनुपर्नेमा जोड दिए । साथै उहाँले पछिल्लो समय मुलुकमा धार्मिक र सामाजिक सदभाव भड्काउने खालका गतिविधि भइरहेको भन्दै त्यसमा सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने उल्लेख गरे।
अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पराण्डेले कर्म गर फलको आश नगर भन्ने श्रीमद्भगवत गीताको भावानुसार गान्धिले जीवनभर गरेको सेवा, त्याग र निष्ठा भावी पुस्ताका लागि आदर्श र प्रेरणाका रुपमा रहिरहने बताए।
गान्धिका विषयमा विधावारिधी गरेका प्राडा आनन्द आचार्यले मुख्य प्रवचन दिँदै अराजकता बढेको र राजनीति दिशाहीन बनेको भन्ने आलोचनाका सन्दर्भमा गान्धिका विचार थप सान्दर्भिक भएको उल्लेख गरे।
प्रतिष्ठानका संस्थापक अध्यक्ष भानुभक्त ढकालले गान्धिका विचारबाट प्रभावित महेन्द्रनारायण निधिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको महत्वपूर्ण योगदानको चर्चा गर्दै प्रतिष्ठान बारेमा जानकारी गराएका थिए।