हान्झाउ– अन्तिम चरणमा पुगेको हान्झाउ एसियाडमा शनिबार बिहान नेपाली कबड्डी टिम कास्य जितेको खुसियाली मनाइरहेको थियो । यसअघि नै कास्य निश्चित गरेको नेपालको महिला कबड्डी टिमले १५औं दिनमा आएर पदक लगाउन पाएको थियो ।
कबड्डी खेलाडीले पदक लगाएको खुसी मनाउँदै गर्दा कराते खेलाडी एरिका गुरुङले झनै ठूलो खुसी थपिदिइन् । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितिन् ।
नेपालका लागि जारी एसियाडमा दोस्रो, एसियाडको इतिहासमै अहिलेसम्मको तेस्रो रजत र करातेमा अहिलेसम्मकै चौथो पदक उनले जितेकी थिइन् । एरिका, कराते र नेपाली खेलकुदकै लागि यो ऐतिहासिक पदक बन्यो ।
नेपालले २५ वर्षपछि एसियाडमा व्यक्तिगतर्फ रजत जिताउने खेलाडी बनिन् एरिका । टिम इभेन्टसहित भन्दा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको हो । सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालले प्याराग्लाइडिङमा एक मात्र रजत पदक जितेको थियो । यस्तै नेपालले पछिल्लो तीन संस्करणमा एउटा मात्र पदक जित्ने क्रम समेत यस पटक भंग भयो । नेपालले २००६ को दोहा एसियाडपछि पहिलो पटक एक भन्दा बढी पदक पनि जित्यो ।
एरिकाले रजत पदकलाई कडा मिहिनेतको फल भएको बताएकी छन् । ‘मैले गरेको कडा मिहिनेतको फल हो यो । मैले आफूले सक्ने बेस्ट दिएको हो । उसले पनि राम्रो खेल्यो । सायद म चुके होला’, रजत जितेपछि एरिकाले भनिन्, ‘भविष्यमा अझ धेरै कडा मिहिनेत गर्ने र अझ स्मार्ट बन्ने छु ।’
उनले यसलाई एउटा सिकाइको रुपमा लिएको पनि बताइन् । ‘मैले हार भन्दा पनि एउटा लेसनको रुपमा लिएको छु र यसले मोटिभेसन दिन्छ र सकरात्मक रुपमा लिएको छु ।’