एसियाली खेलकुद सम्पन्न २०१ स्वर्णसहित चीन शीर्षस्थानमा 

राम्रो अनलाइन     २१ असोज २०८०, आइतबार
एसियाली खेलकुद सम्पन्न २०१ स्वर्णसहित चीन शीर्षस्थानमा 


हान्झाउ–आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड) मा कीर्तिमान २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो ।

आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा जारी १९औं एसियाडको सबै खेलको स्पर्धा सकिएको छ । जसमा चीनले सर्वाधिक २०१ स्वर्ण १११ रजत र ७१ कांस्यहसित ३८३ पदक जितेर शीर्ष स्थानमा रह्यो । चीनले अन्तिम दिन आइतबार आर्टिस्टिम स्विमिङमा स्वर्ण जित्दै कुल २०१ स्वर्ण जितेको हो ।

यस्तै जापान ५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक जितेर दोस्रोमा रह्यो भने दक्षिण कोरिया ४२ स्वर्ण ५९ रजत र ८९ कांस्यसहित १९० पदक जितेर तेस्रोमा रह्यो । यस्तै भारतले इतिहासकै सर्वाधिक २८ स्वर्ण जित्यो । ३८ रजत ४१ कांस्यसहित १०७ पदक जितेर भारत चौथोमा रह्यो ।

एक रजत र एक कांस्य जितेको नेपाल २ पदकसहित संयुक्त रुपमा ३३औं स्थानमा रह्यो । २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा पनि नेपाल ३३औं स्थानमा थियो ।

यस पटक एसियाको ४५ राष्ट्र सहभागी भएकोमा ४१ राष्ट्रले पदक जितेका थिए । साउथ एसियन राष्ट्र भुटान र माल्दिभ्स,  यमन र टिमोर लिस्टेले भने कुनै पदक जित्न सकेन । अहिलेसम्मकै ठूलो एसियडमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडी सहभागी थिए । उनीहरुले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा चीनकी पौडीबाट युफेई झाङले सर्वाधिक ६ स्वर्ण जितेकी थिइन् । झाङसहित पाँच स्वर्ण र एक रजत जितेका चीनकै हाइयाङ क्विन १९औं एसियाडको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए ।

१९औं एसियाडको समापन समारोह आइतबार बेलुका हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा रहेको बिग लोटस स्टेडियममा हुनेछ । समापन समारोह स्थानीय समय अनुसार बेलुका ८ बजे सुरु हुनेछ । समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि छ्याङ उपस्थित हुने कार्यक्रम छ । समापन समारोहमा रजत विजेता नेपाली कराते खेलाडी एरिका गुरुङले नेपालको झण्डा बोक्नेछिन् ।

प्रतिक्रिया