काठमाडौँ– नेपालका भेट्रान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । दक्षिण कोरियामा आइतबार सम्पन्न उक्त च्याम्पियनसिपमा अशोकले सिनियर ४० वर्षमुनिको स्पर्धामा कांस्य पदक जितेका हुन् ।
उक्त स्पर्धामा फ्रान्सका खेलाडीले स्वणर् र अस्ट्रेलियाका खेलाडीले रजत पदक हात पारे । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले खेलाडीका रुपमा पनि पदक जित्दै आएका छन् । खेलाडीका रुपमा उनले पछिल्लो पटक सन् २०१७ र सन् २०१८ को अस्ट्रेलियन ओपनको पुम्सेमा स्वर्ण पदक जितेका थिए । उनी पुम्से, ग्यारोगी र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
