नेपालगञ्जमा वर्तमान साहित्य र पुस्तक लेखनबारे छलफल 

राम्रो अनलाइन     ०८ मंसिर २०८०, शुक्रबार
नेपालगञ्जमा वर्तमान साहित्य र पुस्तक लेखनबारे छलफल 


नेपालगन्ज–नेपालगञ्जमा  आयोजना गरिएको एक कार्यक्रममा सहभागी वरिष्ठ साहित्यकारहरुले वर्तमान साहित्य र पुस्तक लेखनबारे विचार विमर्श गरेका छन्। क्रिएटिभ ह्याण्डले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रसिद्ध आख्यानकार नयनराज पाण्डेले वर्तमान समयलाई प्रामाणिक र विश्वसनीय तरिकाले इमानदारीपूर्वक लेख्न सकियो भने मात्रै साहित्य र पुस्तक लेखन प्रभावकारी हुने बताए। उनले अहिले साहित्यमा धेरै विषयहरु आइरहेको जनाउँदै मधेसका कुरा, पहिचानका कुरा लगायतका धेरै विषयमा साहित्य लेख्ने कार्य भइरहेको बताए। 

सोही प्रकारले २०७९ का मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझाले जहाँबाट अखबारको यात्रा सकिन्छ त्यसपछि आख्यानको यात्रा सुरु हुने जनाउँदै खबरमा नआउने कुरा आख्यानमा लेख्नुपर्ने बताए । उनले साहित्य र पुस्तक लेख्दा बजारमुखी हुन जरुरी रहेको जनाउँदै पाठकको रुचिलाई पनि ध्यान दिनु जरुरी छ भने। 

यस्तै, अर्का उपन्यासकार सुबिन भट्टराईले राम्रा पुस्तकको आयु आख्यानको गुणवत्ताले निर्धारण गर्ने जनाउँदै चर्चालाई हेरेर मात्रै निर्क्योल गर्न नसकिने बताए । उनले लेखकले कुनै कथालाई थाहा पायो र त्यसलाई आफूले लेख्न सक्छु भन्ने लाग्यो भने आफैँ यथास्थानमा पुगेर लेख्नुपर्ने बताए । सोही प्रकारले चर्चित अभिनेत्री सुरक्षा पन्तले पछिल्लो समय आफूले शून्यको मूल्य पुस्तक पढेको बताउँदै त्यसले उठाएको कर्णालीका महिलाहरुको सङ्घर्षका कथा धेरै मन परेको बताए । उनले सिनेमा क्षेत्रमा लेखनकै सबैभन्दा बढी समस्या रहेको जनाउँदै राम्रा पुस्तकलाई सिनेमा बनाउँदा पनि राम्रो टिम भएन भने असफल हुने बताए । 

प्रतिक्रिया