सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अन्सोल्ड भएका छन् ।। भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछानेलार्इ कुनै पनि टोलीले किन्ने इच्छा नदेखाएका हुन् ।
आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए । उनलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् । लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्ली क्यापीटल्सबाट आइपीएल खेलेका थिए । उ त्यो बेला रु ३२ लाखमा अनुबन्ध भएका थिए । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहेका लामिछानेलाई फुकुवा गरेपछि उ यस पटक अक्सनमा सहभागी भएका हुन् ।
सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन ।