आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ को ट्रेलर : विवाह र सम्बन्धबारेको मर्मस्पर्शी कथा

राम्रो अनलाइन     १३ वैशाख २०८३, आइतबार
आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ को ट्रेलर : विवाह र सम्बन्धबारेको मर्मस्पर्शी कथा

काठमाडौं–अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल पहेँली, बुझाइ र दृष्टिकोणलाई निर्देशक सहारा शर्माले सहजरुपमा चित्रण गरेकी छन् ।

मुख्य पात्र आँचल विवाहलाई लिएर खुसी छैनन् । परिवार भने उनको विवाहमा सामाजिक प्रतिष्ठा देखिरहेको छ । यसबीच, परिवारभित्र आउने सम्बन्ध र अपेक्षाको उतारचढावले ट्रेलरलाई रोचक बनाएको छ ।

फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको पनि अभिनय छ ।

फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् ।

फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ ।

मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

‘एक मुठ्ठी बादल’ १ जेठ अर्थात १५ मेमा रिलिज हुनेछ ।

प्रतिक्रिया