अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा

राम्रो अनलाइन     २१ चैत २०७९, मङ्गलबार
अदालतमा हाजिर हुन पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कमा


न्युयोर्क–आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट  न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन् । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् । 

पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन् भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालत बाहिर सम्भावित विरोधप्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन् । उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा तगारा लगाइएका छन् । 

पूर्वराष्ट्रपति ट्रम्पलाई सङ्घीय जाँच ब्युरो ९एफबिआई०, न्युयार्क महानगरको कानुन कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन् । 

अभियोग सामना गर्न अदालतमा उपस्थित भएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको बताउनुहुने उनका वकिलहरूले बताएका छन् । त्यसअघि उनको औँठाछाप लिने, तस्बिर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ । यद्यपि उनलाइ हतकडी लगाइने छैन । अदालतमा उनलाई औपचारिकरूपमा अभियोग लगाइएपछि न्युयोर्क सिटी अदालतका एकजना न्यायाधीशले उनीमाथि लागाइएका अभियोगबारे जानकारी दिनेछन् । 

पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाई कहिले हुन्छ भन्ने स्पष्ट भएको छैन भने मुद्दा दर्तापछि चुनिने न्यायाधीशबाट अन्य विवरण प्राप्त हुनसक्नेछ । बुधबार अदालतले उनलाई धरौटीमा रिहा गर्ने अनुमान गरिएको छ । 

वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले गत साता उहाँलाई फौजदारी अभियोग लगाएको थियो । ट्रम्पले केही साताअघि आफू पक्राउ पर्नसक्ने बताउनुभएको थियो । अन्ततः पक्राउबाट जोगिन उनी अदालतसमक्ष आत्मसमर्पण गर्ने निष्कर्षमा पुगेका छन् । म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उहाँका वकिलसँग सम्पर्क एवम् समन्वय गरेका थिए । 

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो । छयत्तर वर्षीय ट्रम्पले म्यानहाटन जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसर्पण गरेपछि अदालतमा उपस्थित गराइने छ ।

प्रतिक्रिया