अधिक तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

राम्रो अनलाइन     १६ पुस २०८२, बुधबार
अधिक तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं–  नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ख’ उपकरण निष्कासन गर्न लागेको हो ।

यसको बोलकबोल बुधबार (पुस १६) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ ।  राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ । यसको सावाँ आगामी २०८३ पुस १६ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात ९सीआरआर०मा गणना गर्न पाइनेछैन । 

तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ । ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । 

प्रतिक्रिया