अजम्बरी प्रेमका प्रतीक 

राम्रो अनलाइन     ०२ फागुन २०८१, शुक्रबार
अजम्बरी प्रेमका प्रतीक 

प्रेमका नाममा संसारभर विभिन्न स्मारक बनाइएका छन् । ती स्मारकले हामीलाई तिनका निर्माताको प्रेमकथा सम्झाउँछन् र प्रेमप्रतिको विश्वासलाई अझ दृढ पार्न सघाउँछन् । विश्वका यस्तै उत्कृष्ट १० स्मारकबारे यहाँ चर्चा गरिन्छ । 


सान्डोर गार्डेन्स, टेक्सस, अमेरिका

टेक्ससको वेदरफोर्ड शहरमा छ, यो स्मारक । यो प्रसिद्ध चित्रकार डगलस सान्डोर र उनकी पत्नी इना क्युटम्यानबीचको प्रेमको प्रतीक हो । यो स्मारक बनाउन उनीहरूले १६ वर्षभन्दा बढी समय खर्चेका थिए । बेलायती सान्डोरसन् १९२६ मा अमेरिका आएका थिए । छोटै समयमा उनी चित्रकारका रूपमा स्थापित भए । सन् १९३० मा उनको विवाह इनासँग भयो । त्यसपछि साढे तीन एकड जमिनमा उनीहरूले सुन्दर बगैँचा बनाउन थाले । १६ वर्षको अनवरत मेहनतपछि बगैँचा तयार भयो । पहाडजस्तो जमिनलाई उनीहरूले सुन्दर पदमार्ग, झरना र बोटबिरुवा लगाएर सजाएका थिए । 

सन् १९५३ मा सान्डोरको निधन भयो । त्यसपछि क्युटम्यानले यसलाई आगन्तुकका लागि खुला गरिन् । सन् १९७८ मा उनी पनि बितिन् । यहाँ आजभोलि विवाह समारोह र विशेष भोज पनि आयोजना हुन्छन् । 


मिराबेल प्यालेस, अस्ट्रिया

अस्ट्रियाको सबैभन्दा ठूलो शहर साल्जबर्गमा छ यो स्मारक । सुरुमा सन् १६०६ मै राजकुमार आर्कबिसप वुल्फ देत्रिच भान राइटनाउले राजकुमारी सलोमका लागि यो दरबार बनाएका थिए । यो जोडीले १५ सन्तान जन्माएका थिए । 
राजकुमारको मृत्युपछि यसको नाम मिराबेल प्यालेस राखियो । त्यसयता यसको अनेकौँ पटक जीर्णोद्धार गरिसकिएको छ । यद्यपि, भित्री सजावट भने सुरुको जस्तै राखिएको छ । जसमा प्राचीन सौन्दर्य देख्न सकिन्छ । मूर्तिहरू, खास तरिकाले डिजाइन गरिएको भर्‍याङ यसका विशेषता हुन् । आजभोलि यो प्यालेस प्रेमका विश्वप्रसिद्ध प्रतीकमध्ये एक मानिन्छ । 


पेतित त्रियानो, फ्रान्स


फ्रान्सको भर्साई दरबारकै एक हिस्सा हो, पेतित त्रियानो । राजा लुई पन्ध्रौँले रानी मदाम दे पम्पादोरका लागि यो स्मारक बनाएका थिए । तर, यो तयार हुनुभन्दा चार वर्षअघि नै रानीको मृत्यु भयो । पछि लुई पन्ध्रौँले यो भवन अर्की रानी मदाम दु बेरीलाई उपहार दिए । 

पेतित त्रियानो ग्रीक शैलीमा निर्मित छ । यसलाई शास्त्रीय कलाले सजाइएको छ । यसमा प्रयुक्त काष्ठकला पनि उत्कृष्ट मानिन्छ । सुन्दर बगैँचा पनि छ । यो स्मारकको स्वरूप बेग्लाबेग्लै देखिन्छ । प्रेमी जोडीका माझ यो स्थान लोकप्रिय छ ।


कोदाई जी टेम्पल, जापान


यो स्मारक जापानको क्योटोस्थित हिगासियामा र्‍याेजेन पहाडमा अवस्थित छ । यो मन्दिर सन् १६०६ मा कितानो मान्दोकोरोले आफ्ना दिवंगत पति तोयोतोमी हिदेयोसीको नाममा बनाएकी थिइन् । हिदेयोसीलाई जापानको एकीकरण गरेको जस दिइन्छ । यो ऐतिहासिक स्थल आगन्तुकका लागि हरेक दिन खुला राखिन्छ । 

सन् १६२४ मा कितानो मान्दोकोरोको मृत्यु भयो । मन्दिरभित्रै दुवैको समाधि छ । त्यसपछि यो स्थान भिक्षुहरूको आश्रयस्थल बन्यो । विभिन्न कलाकृति र सुन्दर सजावटका कारण यो मन्दिर खास बनेको छ । शताब्दीयौँअघि कोबोरी एन्सुले डिजाइन गरेको यो मन्दिरवरिपरिको बगैँचाका कारण पनि यो स्थान अझ आकर्षक बनेको छ । 


थोर्नवुड क्यासल, वासिङ्टन, अमेरिका

अमेरिकाको वासिङ्टनस्थित लेकवुड सिटीमा चार एकड जमिनमा बनेको छ, थोर्नवुड क्यासल । करोडपति चेस्टर थोर्नले यो भवन बनाएका हुन् । उनकी पत्नी अन्नाले सन् १९०७ मा यस्तो किल्ला बनाउने इच्छा व्यक्त गरेकी थिइन् । 

त्यसपछि थोर्नले बेलायतको चार सय वर्ष पुरानो एउटा किल्ला खरिद गरे । त्यसलाई टुक्राटुक्रा पारेर पानीजहाजमा राखे र वासिंङ्टन ल्याइपुर्‍याए । त्यसमार्फत उनले थोर्नवुड क्यासल बनाए । पुरानो किल्लाको हरेक इँटा बोकेर वासिंङ्टन पुर्‍याइएको थियो । यसका लागि तीनटा पानीजहाज आवश्यक परेको थियो । प्रसिद्ध आर्किटेक्ट कर्टल्यान्ड केल्सी कटरले यसको डिजाइन तयार गरे । सन् १९०८ मा बनाउन सुरु गरिएको यो भवन तयार हुन तीन वर्ष लाग्यो । 

किल्लाभित्र २७ हजार स्क्वायर फिट जमिन छ । यहाँ दुर्लभ कलाकृतिसमेत देख्न पाइन्छ । बाहिरको बगैँचाले यसलाई अझ सुन्दर बनाएको छ । थोर्नवुड क्यासलभित्र अचेल भाडामा लक्जरी सुइटसमेत पाइन्छ । 



कोरल क्यासल, फ्लोरिडा, अमेरिका

फ्लोरिडास्थित मियामी शहरमा रहेको प्रस्तर मूर्तिकला स्मारक हो यो । यो एक व्यक्तिको गुमेको प्रेमको निशानी पनि हो । जसले यो स्मारक तयार पार्न २८ वर्ष खर्चेका थिए । 
२६ वर्षको हुँदा एडवर्ड लिड्कल्निनले आग्नेस स्क्फ्ससँग इन्गेजमेन्ट गरे । आग्नेस त्यसबेला मात्र १६ वर्षकी थिइन् । विवाहको मिति नजिकिँदै थियो । तर, एक दिनअघि मात्रै आग्नेसले विवाह रद्द गरिदिइन् । एडवर्डको मुटु टुक्राटुक्रा भयो । उनी विह्वल भए । भावावेगमा उनले नबनेकी पत्नीका नाममा प्रेम स्मारक बनाउने निर्णय गरे । जसलाई आज कोरल क्यासलको नामले चिनिन्छ । 
एडवर्डले कोरल क्यासलको काम सन् १९२१ मा सुरु गरे । बाँकी सारा जीवन उनले यसैका लागि अर्पित गरे । पाँच फिट मात्र अग्ला उनले क्यासल बनाउन ११ सय टन कोरल ओसारे । यसैबाट उनले गरेको मेहनत थाहा पाउन सकिन्छ । कोरल गार्डेनमा जतासुकै प्रेमका चिह्न पाउन सकिन्छ । यहाँ भएका सारा आकृति एउटै मान्छेले कुँदेको हो भन्दा धेरैले नपत्याउन सक्छन् । 



केलिज क्यासल, मलेसिया


यो क्यासल मलेसियाको पेराक राज्यमा अवस्थित छ । बीसौँ शताब्दीमा स्कटल्यान्डका नागरिक केली स्मिथले लामो प्रतीक्षापछि पहिलो पुत्र जन्मेको खुशीयालीमा यो स्मारक बनाएका थिए । 
केली भारतीय संस्कृति र पुरातत्व  शैलीका प्रशंसक थिए । त्यसैले यो किल्ला बनाउन प्रयोग भएका सबै इँटा उनले भारतबाट आयात गरेका थिए । ठूलो संख्यामा भारतीय कामदार मलेसिया पुर्‍याएर उनले काममा खटाएका थिए । मन्दिरलाई नजिकैको एक मन्दिरसँग जोड्ने एउटा सुरुङ पनि छ । केलिज क्यासलको सबैभन्दा माथिल्लो तलामा भोजभतेर आयोजना गर्ने स्थल छ । 
विलियम केली स्मिथ यो स्मारकलाई अझ सम्पन्न बनाउन चाहन्थे । त्यसैका लागि उनी विभिन्न सामग्री लिन पोर्चुगल जाँदै गर्दा सन् १९२१ मा उनको मृत्यु भयो र क्यासलको बाँकी हिस्सा अधुरै रह्यो । उनका पत्नी र छोरा स्कटल्यान्ड फर्के । त्यसपछि यो भवन पूरा गर्ने जिम्मा एक बेलायती कम्पनीले पायो । 


स्विट हार्ट एबी, स्कटल्यान्ड


तेह्रौँ शताब्दीका डेवरजिल्ला र उनका पति लर्ड जोन बेलिओलको प्रेम स्मारक हो, स्कटल्यान्डको डमफ्रिसमा रहेको स्विट हार्ट एबी । डेवरजिल्लाले पति गुमाइन् । वियोग सहन सकिनन् । त्यसैले उनले पतिको मुटु झिकेर आफूसँगै राखिन् । त्यसपछि उनले यो स्मारक बनाइन् । सन् १२८९ मा उनको मृत्यु भयो । यो स्थानलाई प्रेमी जोडीले पवित्र स्थलका रूपमा लिन्छन् । 



बोल्ट क्यासल, न्युयोर्क, अमेरिका


न्युयोर्क शहरको हार्ट आइल्यान्डमा छ, यो स्मारक । करोडपति जर्ज बोल्टले परिवारका लागि यो स्मारक बनाएका थिए । सयौँ कामदारले हार्ट आइल्यान्डभित्र अनेकौँ संरचना बनाए । सन् १९०४ मा पत्नीको मृत्युपछि उनले काम रोक्न लगाए । त्यसपछिको ७३ वर्षसम्म यो क्यासल अलपत्र रह्यो । सन् १९७७ देखि यसलाई सर्वसाधारणका लागि खुला गरियो । 



ताजमहल, आगरा, भारत  

प्रेमका प्रतीकमध्ये सबैभन्दा चर्चित छ, ताजमहल । उत्तरप्रदेशको आगरामा अवस्थित यो स्मारक मुगल सम्राट शाहजहाँले पत्नी मुमताजको स्मृतिमा बनाएका थिए । यसलाई विश्व सम्पदा सूचीमा समेत राखिएको छ । विश्वका सात आश्चर्यमध्ये एक रहेको ताजमहल पर्यटक आकर्षणको केन्द्र पनि हो । 

सन् १६३२ मा बनाउन सुरु गरिएको यो स्मारक तयार हुन १७ वर्ष लागेको थियो । ताजमहल निर्माणमा २२ हजारभन्दा बढी कामदार लागेको अनुमान गरिन्छ । यसमा मुगल तथा पारसी ढाँचा र कला प्रयोग गरिएका छन् । ताजमहल बनाउन खास किसिमको संगमरमर प्रयोग गरिएको छ । जताबाट हेर्दा पनि उस्तै देखिने यो स्मारक वरिपरि रहेको बगैँचा झनै आकर्षक छ । प्रेमी जोडीका लागि त यो स्थान तीर्थस्थल नै हो । ताजमहलभित्रै मुमताज र शाहजहाँका समाधि पनि छन् । 

प्रतिक्रिया