काठमाडौँ, ५ जेठ : विश्वभर फैलिएको कोरोना भाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको सहयोगका कारण अहिले सङ्क्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ ।
कोभिड १९ का कारण मङ्गलवारसम्म कोभिड सङ्क्रमणमा परेका तीन लाख ५२ हजार ४१४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क बताउँछ । अहिलेसम्म पाँच हजार ४११ जनाको यही सङ्क्रमणजन्य जटिलताबाट ज्यान गएको छ । नागरिकलाई आफ्ना परिवारका सदस्य अनि आफन्त गुमाउनु पर्दाको पीडाले दिन प्रतिदिन पिरोल्दै गएको छ ।
नेपालमा रहेका अस्पलात, स्वास्थ्य क्षेत्रका जनशक्ति र स्रोत साधनले नै धान्न नसक्ने गरी कोभिड १९ को सङ्क्रमण फैलिएपछि उपचारमा समेत निकै कठिनाई भएको देखिएको छ । आफ्ना नागरिकलाई कोभिडबाट बचाउन देशको स्रोत र साधानले नभ्याउने अवस्था भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेका छन् ।
कोभिड १९ को दोस्रो लहरमा धेरै विरामीलाई अक्सिजनको आवश्यकता प¥यो । तर पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुन नसकेपछि धेरैले ज्यान गुमाउनु प¥यो । चीन सरकारले अनुदानस्वरुप नेपाललाई प्रदान गरेको २० हजार अक्सिजन सिलिण्डर नेपाल बायुसेवा निगममार्फत् केही ल्याइएको छ भने केही तातोपानी नाकाहुँदै नेपाल आइपुगेका छन् ।
त्यस्तै खाडी मुलुकमा कार्यरत नेपालीहरुले सरकारलाई शनिबार ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको थाहा पाएपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपालीले रकम सङ्कलन गरेर नेपाललाई अक्सिजन सिलिन्डर पठाएका हुन् । देश तथा विदेशमा बस्ने नागरिकले पनि यो विपद्का बेला सक्दो प्रयास गरिरहेका छन् । यसबीचमा सर्वोच्च अदालतले पनि नागरिकको उपचामा कुनै कसर बाँकी नराख्न आदेश जारी गरेको छ ।
सर्वोच्चको आदेशः उपचारको उचित व्यवस्था गर्नु
सर्वोच्च अदालतले कुनै पनि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि मात्र घर फर्किने गरी व्यवस्था मिलाउन सरकारका नाममा सोमबार अन्तरमि आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा भनिएको छ, “उपचारमा सबै सङ्क्रमितको सहज र समान पहुँच स्थापित होस्, अक्सिजन वा पर्याप्त उपचार अभावमा कोही सङ्क्रमितको मृत्यु नहोस् ।” त्यस्तै, प्रदेश र स्थानीय तहमा पनि कोभिडको उपचार हुनसक्ने गरी पूर्वाधार र अन्य व्यवस्थापन मिलाउनू भनिएको छ ।
“पहिलो चरणको खोप लगाउनेले दोस्रो चरणको र सबै नेपालीले खोप पाउने सुनिश्चित गर्नु”–आदेशमा भनिएको छ, “कोरोना महामारीको तेस्रो चरण र यसपछि आउन सक्ने सम्भावित सङ्क्रमणको पूर्वतयारी गर्नु, महामारी नसकिएसम्म १५–१५ दिनमा कामकारबाहीको प्रगति विवरण अदालतलाई बुझाउनु ।” सर्वोच्च अदालतले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य मन्त्रालयलाई उक्त आदेश दिएको हो । मन्त्रालयले अब सङ्क्रमितलाई बचाउन समस्या नभएको जनाएको छ ।
अक्सिजनको अभावमा विरामी मर्नु पदैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतामा अक्सिजनको अभाव भएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नभएको बताएको छ । “बाहिर आएजस्तो एकदमै अभाव भनेर ३÷४ दिनअघिको जस्तो अवस्था छैन”, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “अहिले ट्याङ्करबाटै झोल अक्सिजन ल्याएर अस्पताल÷अस्पतालमा गएर खाँली सिलिण्डरमा हाल्ने काम भएको छ, दिनमै चार÷पाँच हजार एकै ठाउँमा प्रयोग गर्नुपरे पनि पुगेको छ ।” उहाँले आफैले अक्सिजन बोकेर ल्याउनुपर्ने भनेर विरामीका आफन्तलाई भन्नुपर्ने अवस्था नभएको र अबको तीन÷चार दिनमा देशभर कुनै पनि ठाउँमा अक्सिजनको अभाव नहुने बताए ।