काठमाडौँ– चालु आर्थिक वर्षको मध्यावधिसम्म आइपुग्दा सरकारको राजस्व संकलन लक्ष्यअनुसार हुन नसक्दा अर्थतन्त्रको समग्र व्यवस्थापनमै दबाब देखिएको छ । बजेटमार्फत महत्वाकांक्षी राजस्व लक्ष्य तोकिए पनि आयातमा सुस्तता, आन्तरिक आर्थिक गतिविधिमा कमी, निर्माण तथा पूर्वाधार क्षेत्रमा खर्च ढिलाइ र निजी क्षेत्रको लगानी उत्साह घट्दा राजस्व उठ्ती अपेक्षाभन्दा कम छ । त्यसमाथि पछिल्लो समयको जेनजी आन्दोलनले समग्र अर्थतन्त्र सुस्त र निजी क्षेत्रको मनोबल उठ्न सकेको छैन ।
सरकारले चालु वर्षका लागि उच्च आकारको बजेट सार्वजनिक गर्दै त्यसको प्रमुख स्रोतका रूपमा राजस्व संकलनलाई अघि सारेको थियो। तर भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क जस्ता प्रमुख शीर्षकहरूमा संकलन लक्ष्यअनुसार हुन नसक्दा बजेट कार्यान्वयनमै चुनौती थपिएको छ । विशेषगरी आयातमा आएको गिरावटले भन्सार राजस्वमा प्रत्यक्ष असर पारेको छ, जुन नेपालजस्तो आयात–आधारित अर्थतन्त्रका लागि संवेदनशील सूचक मानिन्छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार निजी क्षेत्रको कारोबार सुस्ताउँदा भ्याट र आयकर संकलनमा पनि अपेक्षित वृद्धि हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह विस्तारै बढ्न थाले पनि उद्योग, व्यापार र निर्माण क्षेत्रमा लगानी पूर्ण रूपमा चलायमान भइसकेको छैन। यसले उत्पादन, रोजगारी र उपभोग तीनै क्षेत्रमा प्रभाव पार्दै अन्ततः सरकारको राजस्व आधार संकुचित बनाइरहेको विश्लेषण गरिएको छ ।
यद्यपि, यस्तो चुनौतीपूर्ण अवस्थामा पनि नियमसम्मत र पारदर्शी व्यापार गर्ने निजी क्षेत्रका केही संस्थाले राजस्व संकलनमा सकारात्मक योगदान पुर्याइरहेका उदाहरणहरू देखिन थालेका छन् । भन्सार प्रशासनले पनि वैध व्यापार प्रवद्र्धन र राजस्व वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।
यही सन्दर्भमा ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले आयोजना गरेको विशेष कार्यक्रममा सीजी मोटर्स प्रा।लि।लाई कदर–पत्रसहित सम्मान गरिएको छ । भन्सार नियम तथा कानुनको पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्याएको भन्दै कम्पनीलाई सम्मान गरेको छ । सिजीले गत आर्थिक वर्षमा झन्डै ८ अर्बको सवारी आयात गरी ३ अर्ब २१ करोड रुपैयाँ राजस्व तिरेको थियो ।
सीजी मोटर्स प्रा।लि।ले भन्सार ऐन–नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी तथा वैध र व्यवस्थित व्यापार प्रवद्र्धनमा खेलेको भूमिकालाई रसुवा भन्सारले सम्मान गरेको हो । रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार विस्तार, राजस्व वृद्धि र राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ ।
सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै भन्सार प्रशासनसँग सहकार्य गर्ने अवसर पाएकोमा आभार प्रकट गरे । उनले आगामी दिनमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा कम्पनी प्रतिबद्ध रहने बताए ।
चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको सीजी मोटर्स प्रा.लि. नेपालका अग्रणी अटोमोबाइल कम्पनीहरूमध्ये एक हो । कम्पनीले पछिल्ला वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री–वितरण विस्तार गर्दै दिगो तथा वातावरणमैत्री मोबिलिटी प्रवद्र्धनमा भूमिका खेल्दै आएको छ। सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधन भित्र्याउने प्रयाससँगै कम्पनीले औपचारिक र करयोग्य व्यापार प्रणालीलाई बलियो बनाउँदै आएको बताइन्छ ।
राजस्व संकलनमा दबाब रहेका बेला यस्ता जिम्मेवार निजी क्षेत्रका उदाहरणले सरकार र व्यवसायीबीचको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अर्थविद्हरू बताउँछन्। उनीहरूका अनुसार कर आधार विस्तार, चुहावट नियन्त्रण, भन्सार प्रणालीको आधुनिकीकरण र नीतिगत स्थिरता कायम गर्न सके मात्र दीर्घकालीन रूपमा राजस्व दिगो बन्न सक्छ। त्यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य, पारदर्शिता र पारस्परिक विश्वास झन् अपरिहार्य बन्दै गएको छ ।