काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा दुई जनाको मृत्यु भएकोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले मन्त्री ज्वालाको त्यस बेलाको गतिविधि सार्वजनिक गर्न समितिलाई माग गरेका हुन् । उनले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’
बालकुमारी घटनाको छानबिन गर्न गठन भएको समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । ‘यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन ? लापरवाही हो भने दण्ड हुन्छ ।’