बढ्दै थाइल्यान्ड भ्रमण जाने नेपालीको संख्या 

राम्रो अनलाइन     २६ चैत २०८०, सोमबार
बढ्दै थाइल्यान्ड भ्रमण जाने नेपालीको संख्या 

 

काठमाडौं– नेपालमा थाइलयान्ड भ्रमणमा जाने नेपाली नागरिकको संख्या ह्वात्तै बढेको छ।

थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयका अनुसार सन् २०२४ को जनवरी र फेब्रुअरी महिनामा थाइल्यान्डमा विश्वभरबाट ६३ लाख ८७ हजार पर्यटक थाइल्यान्ड भ्रमणमा पुगेका छन्। यी दुई महिनामा नेपालबाट मात्र ६ हजार ८६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन्।

सन् २०२३ को दुई महिनामा ४ हजार ३६० जना नेपाली नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका थिए। यस वर्ष जनवरीमा ३ हजार ७५१ र फेब्रुअरीमा ३ हजार १०९ जना नेपाली थाइल्यान्डको भ्रमणमा गएका छन्। यो अघिल्लो वर्षको तुलनामा क्रमशः ९१।६७ प्रतिशत र २९।३८ प्रतिशत धेरै हो।

थाइल्यान्डमा सबैभन्दा धेरै चिनियाँ नागरिक पुगेको देखिएको छ। दुई महिनामा ११ लाख ८३ हजार १२१ जना चिनियाँ नागरिकले थाइल्यान्ड भ्रमण गरेका छन्। चिनियाँ नागरिकको यो संख्या गत वर्षको तुलनामा निकै धेरै हो। यस वर्ष गत वर्षको तुलनामा जनवरीमा ५४३ र फेब्रुअरीमा ३३३ प्रतिशत धेरै चिनियाँ नागरिक थाइल्यान्डको भ्रमणमा पुगेका छन्। दक्षिण एसियाबाट सबैभन्दा धेरै भारतीय नागरिक थाइल्यान्ड भ्रमणमा पुगेका छन्। तथ्यांक अनुसार दुई महिनामा ३ लाख ११ हजार ८२३ जना भारतीय थाइल्यान्ड भ्रमणमा पुगेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म नेपालीले विदेश भ्रमणका लागि मात्र ४२ अर्ब ६७ करोड रुपैयाँ खर्च गरिसकेका छन्। गत वर्ष यस्तो रकम २९ अर्ब ६२ करोड रहेको थियो। तथ्यांकले समेत यस वर्ष नेपालीले विदेश भ्रमण बढाइरहेको देखिन्छ।

प्रतिक्रिया