बेनीमा ‘आइपिएम’ कृषक पाठशाला सञ्चालन

राम्रो अनलाइन     १६ माघ २०८१, बुधबार
बेनीमा ‘आइपिएम’ कृषक पाठशाला सञ्चालन


म्याग्दी– कृषकहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान र सीप प्रदान गर्न बेनी नगरपालिकाले एकिकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ । 

नगरको कृषि शाखाले कृषक समूहमार्फत वडा नं २ को गौस्वारामा काउलीबाली, वडा नं ५ पुलाचौरमा हिउँदे आलु र वडा नं ९ को काउलेगौँडामा आलुबाली सम्बन्धी पाठशाला सञ्चालन गरेको हो । 

नगरको कृषि शाखाका अधिकृत आकृति ढुङ्गानाले वडा नं १ र ४ मा गोलभेँडा, वडा नं ३ मा अकबरे खुर्सानी, वडा नं ६ मा लहरे बालीका लागि पाठशाला सञ्चालन गरिने बताए । कृषकहरूको माग अनुसार वडा नं १० पात्लेखेतमा पाठशाला सञ्चालन गर्ने बाली र समूह छनोट गर्न बाँकी रहेको उनले जानकारी दिए । 

‘कृषकलाई मित्र र शुत्र जिव पहिचान गर्न सिकाएर स्थानीय रूपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरिएको हो’, कृषि अधिकृत ढुङ्गानाले भने, ‘हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गर्दै आएका छौँ ।‘

ढुङ्गानाका अनुसार प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा चार वटा प्लट (ड्याङ) बनाएर फरक तरिकाले फरक जातका खेती गरिएको छ । एउटा पाठशालामा २५ देखि ३० जना कृषक समूह सहभागी हुने कार्यविधि छ ।  स्थानीयस्तरमा उपलब्ध हुने प्राङ्गारिक मल, गाईभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट लाग्ने रोगकिराको पहिचान तथा व्यवस्थापन गर्न सिकाइने आइपिएम सहजकर्ता सोवित शर्माले बताए । 

‘तितेपाती, असुरो, खरानी, गाईभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकिरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्छौँ’, उनले भने, ‘रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक मलको प्रयोग गरी गरिने खेतीको प्रवर्द्धन गर्ने उद्देश्य हो ।’

पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइँदै आइएको छ । नगरपालिकाले प्रतिपाठशाला सञ्चालन गर्न रु एक लाख ५० पचास हजारका दरले बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया