भोजपुर–आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारी थालेको छ । निर्वाचन कार्यालयले आज मतदानस्थल र केन्द्रका बारेमा आवश्यक निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी निर्वाचनका लागि पुरानै ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको छ ।
मतदानस्थल र केन्द्रमा कुनै समस्या नभएको भन्दै पछि विषेश अवस्था देखिएमा पुनःबैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। उनले निर्वाचनका लागि आज गरिएको निर्णयअनुसार निर्वाचन आयोगलाई सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए।
मतदाता नामावली सङ्कलन गर्ने काम आजदेखि सकिएको बताउँदै आगामी मङ्सिर २० गतेदेखि ३० गतेसम्म नामावलीमा त्रुटी सच्याउने र दाबी विरोधको समय राखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार जिल्ला निर्वाचन कार्यालय अहिले चुनावको तयारीमा लागिपरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको सिफारिस समितिको बैठकमा जिल्लास्थित राजनीति दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो । भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि एउटा र प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र छन् ।