चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपत्ता 

राम्रो अनलाइन     २८ असार २०८१, शुक्रबार
चितवनको पहिरोमा परेका दुवै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपत्ता 


चितवन– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको यकिन विवरण भने थाहा हुनसकेको छैन ।

दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘हामी घटनास्थलमा छौं । पहिरो पन्छाउँदै खोजी कार्य जारी छ ।’ जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको टोली खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।

प्रतिक्रिया