एक्लो कर्मचारीले धानेको तनहुँको कृषि सामग्री कम्पनी

राम्रो अनलाइन     २४ भदौ २०८१, सोमबार
एक्लो कर्मचारीले धानेको तनहुँको कृषि सामग्री कम्पनी

 

तनहुँ– तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ ।

कम्पनीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको शर्माले बताए । दुईजना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले बताए । ‘कुल सातजनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ’, शर्माले भने, ‘विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुने भएकाले कार्यालय रित्तिँदै गएको हो ।’

उनका अनुसार कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुईजना गरी चार दरबन्दी रिक्त छ । एकजनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको उनको गुनासो छ ।

बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए । कार्यालयमा कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पटकपटक जानकारी गराए पनि पूरा हुन नसकेको उनको भनाइ छ ।

राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालयमा धान्नुपर्ने अवस्था आएको उनले बताए । तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको यस कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ ।

यस कम्पनीले तीन जिल्लामा दुई सय १९ वटा डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ । ०५२ र ०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । ०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ ।

विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए ।

प्रतिक्रिया