एनपीएल अक्सनः पहिलो चरणमा २६ खेलाडी अनुबन्ध

राम्रो अनलाइन     २४ साउन २०८२, शनिबार
एनपीएल अक्सनः पहिलो चरणमा २६ खेलाडी अनुबन्ध

काठमाडौँ–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनको  पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका छन् । आज भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले उनीहरुलाई अनुबन्ध गरेको हो । 

दोस्रो संस्करणका लागि सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । उनीहरुले जनही रु १५ लाख प्राप्त गर्नेछन् । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाण्डू गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट खेल्ने तय भएको छ । 

यसैगरी दिलीप नाथ र शेर मल्ललाई लुम्बिनी लायन्सले, हेमन्त धामीलाई सूदुरपश्चिम रोयल्सले, सूर्य तामाङलाई विराटनगर किङ्ग्सले, सन्तोष यादवलाई काठमाण्डू गोर्खाजले र युवराज खत्रीलाई कर्णाली याक्सले जनही रु १० लाखमा अनुबन्ध गरेको छ । 

यस्तै मयन यादवलाई जनकपुर वोल्टस्ले रु ७ लाख ५० हजारमा तथा आकाश त्रिपाठीलाई काठमाण्डू गोर्खाजले रु ७ लाखमा अनुबन्ध गरेको छ । यसैगरी नारायण जोशी र साहिल पटेललाई विराटनगर किङ्ग्सले, अर्जुन कुमाललाई पोखरा एभेन्जर्सले, विशाल पटेललाई लुम्बिनी लायन्सले तथा आदित्य महतालाई जनकपुर बोल्टसले जनही रु ५ लाखमा अनुबन्ध गरेको छ । काठामण्डु गोर्खाजले उत्तम थापा मगरलाई रु ३ लाखमा अनुबन्ध गरेको छ ।  

यसैगरी टेकबहादुर रावत र दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले,  अभिषेख तिवारी र कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले, सचिन भट्टलाई जनकपुर बोल्टसले, तुलबहादुर थापालाई काठमाण्डू गोर्खाजले तथा इमरान शेख र दीपक डुम्रेलाई कर्णाली याक्सले जनही रु दुई लाखमा अनुबन्ध गरेको छ । 

काठमाण्डू गोर्खाजले आफ्नो कोटा अनुसार ५ खेलाडी अनुबन्ध गरेको छ । अन्य टोलीले अक्सनको पहिलो चरणबाट सबै खेलाडी भित्र्याउन सकेनन् । यसअघि अनसोल्ड भएका बाँकी खेलाडीलाई काठमाण्डू गोर्खाज बाहेकका टोलीले न्युनतम मूल्यमा अनुबन्ध गर्न पाउनेछन् । एनपिएलको आजको मिनी अक्सनमा १५० खेलाडीले भाग लिएका थिए । दर्ता भएका ४५८ खेलाडीबाट १५० जनालाई मिनी अक्सनका लागि छनोट गरिएको थियो ।

प्रतिक्रिया