काठमाडौं – विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगमा संकटा क्लबविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ ।
आइतबार (माघ ११) एपीएफलाई काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित दिलाउन प्रदीप लामा र युवराज खड्काले समान एक गोल गरे । संकटाका गणेश हमालले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
२९औँ मिनेटमा एपीएफलाई प्रदीपले अग्रता दिलाए । ५१औँ मिनेटमा युवराजले अग्रतालाई दोब्बर बनाए । ८१औँ मिनेटमा संकटालाई टोलीका गणेशले गोल गर्दै १–२ को स्थितिमा फर्काएका थिए ।
जितसँगै एपीएफले लिगमा नौ अंक जोडेको छ । एपीएफले तीन खेल खेल्दा शतप्रतिशत जित निकाल्दै यो नतिजा आत्मसात् गरेको हो । पराजित संकटाले पाँच अंकमा सीमित छ ।