गण्डकीमा बहुमतीय मुख्यमन्त्री बनाउन दिएको समय आज सकिदै 

दलहरुले दिउँसो ४ बजेसम्म वहुमतको सरकारको दाबी गर्न नसके संविधानको धारा १६८ (३) अनुसार अहिलेकै कामचलाउ मुख्यमन्त्री गुरुङलाई सरकार बनाउने बाटो खुल्नेछ ।
राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
गण्डकीमा बहुमतीय मुख्यमन्त्री बनाउन दिएको समय आज सकिदै 

पोखरा । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले सरकार गठनका लागिदिएको तीन दिनको समयावधि आज सकिदैछ । संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखले तीन दिन अगाडी आज सम्मको समयावधि दिएर दलहरुलाई सरकार गठनको आह्रवान गरेकी थिइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ले बैशाख २६ मा पदवाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुलाई मिलेर बहुमतको सरकारका लागि दलहरुलाई आह्रवान गरेकी थिइन् ।

दिउँसो ४ बजेसम्म दलहरुले बहुमतको दाबीसहित सरकार गठनको प्रयास गर्न सक्नेछन् । तर अहिलेसम्म कुनै पनि दलले बहुमत जुटाउन सकिरहेका छैनन् । कांग्रेस, माओवादी र जसपाले काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अगाडी सादै प्रयास गरिरहेका छन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन्। सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ । स्वतन्त्रका एक सांसद दिपक मनाङ्गे एमालेतिर नै छन् ।

राष्ट्रिय जनमोर्चा सरकार गठनका लागि निर्णायक छ । जनमोर्चाका तीन सांसदमध्ये तीनै जनाले विपक्षी गठवन्धनलाई साथ दिएमा विपक्षीका तर्फबाट कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्न सक्नेछन् ।

तर जनमोर्चाका प्रदेश सभा दलका नेता कृष्ण थापाले केन्द्रको निर्देशन मानिरहेका छैनन । उनले विपक्षी गठवन्धनलाई साथ नदिएसम्म विपक्षीको सरकार बन्ने सम्भावना छैन ।

दलहरुले दिउँसो ४ बजेसम्म वहुमतको सरकारको दाबी गर्न नसके संविधानको धारा १६८ (३) अनुसारको प्रक्रियामा जानेछ । त्यसो हुँदा अहिलेकै कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङलाई नै सरकार बनाउने बाटो खुल्नेछ ।

प्रतिक्रिया