काभा बिच भलिबलमा नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

राम्रो अनलाइन     १८ साउन २०८१, शुक्रबार
काभा बिच भलिबलमा नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

 

काठमाडौं –  भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २(० को सेटमा पराजित गरेको हो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१–१५, २१–१४ ले पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा नेपालले भुटान बी टिमलाई सोझो सेटमन पराजित गरेको थियो । नेपालले आजै समूहको अन्तिम खेलमा ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २–० को सेटमा पराजित भएको हो ।

कमला पुन र मनिषा चौधरी सम्मिलिति नेपालले महिलातर्फ पनि लगातार दोस्रो जित हात पारेको थियो । महिलातर्फ पहिलो खेलमा नेपालले उज्वर्किस्तानलाई र दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । महिलातर्फ अब नेपालले माल्दिभ्ससँग खेल्न बाँकी छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिवार हुनेछन् । तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक–एक टोली सहभागी छन् ।

प्रतिक्रिया