कालो वर्णका कारण जो तिरस्कृत भए

एजेन्सी     २७ जेठ २०७८, बिहिबार
कालो वर्णका कारण जो तिरस्कृत भए

अनुहारका कारण बलिउडमा केही अभिनेता-अभिनेत्रीले अपमान सहनुपरेको थियो। कालो भएकै कारण उनीहरूको मजाक उडाइयो तर उनीहरूले आफ्ना प्रतिभाका कारण इन्डस्ट्रीमा प्रभाव पारे। 


नवाजुद्दिन सिद्दिकी 

अभिनेता नवाजुद्दिन सिद्दिकीको बलिउडमा अहिले विशेष छवि र आकर्षण छ। प्रतिभाशाली अभिनेतामा उनको गणना हुन्छ। तर, थुप्रै वर्ष बलिउडका कलाकारले उनको कालो अनुहारमाथि भद्दा टिप्पणी गरेका थिए। केही वर्षअघि उनले एउटा चर्चित ट्वीट गरेका थिए। उनले कास्टिङ डाइरेक्टर सञ्जय चौहानलाई लक्ष्य गरेर लेखेका थिए,  ‘मलाई गोरा र ‘ह्यान्डसम’ कलाकारका साथमा कास्ट गर्न नसकिने यथार्थ बताइदिएकोमा धन्यवाद ! किनभने, मेरो रङ कालो छ र मेरो अनुहार राम्रो पनि छैन। तर, म यस्ता चिजमा ध्यान दिन्नँ।’ 

चौहानले एक अखबारमा भनेका थिए, ‘फिल्म ‘बन्दुकबाज’मा नवाज पहिलेदेखि नै प्रोजेक्टमा थिए तर मुख्य अभिनेत्री र अन्य कलाकार लिँदा उनको व्यक्तित्वको ख्याल गर्नुपर्थ्यो। कुनै ‘फेयर एन्ड ह्यान्डसम’लाई नवाजको अगाडि कास्ट गर्न सकिँदैनथ्यो।’

रूप र वर्णका कारण सिद्दिकीले नमज्जाका थुप्रै घटना भोगे। अभिनेता ऋषि कपुरले समेत उनको अपमान गरेका थिए। एक प्रसंगमा सिद्दिकीले आफू ‘रूखमुनि हिरोइनको वरिपरि घुमेर नाच्ने हिरो’ नभएको बताएका थिए। उनको बयानमाथि टिप्पणी गर्दै कपुरले ट्वीट गरेका थिए– ‘तिम्रो अनुहार र व्यक्तित्वका कारण हिरोइनसँग त्यसो गर्ने अवसर पाउनेछैनौ।’

रेखा 

सन् १९७० को दशकमा रेखाले फिल्म ‘सावन भादों’बाट डेब्यू गरेकी थिइन्। उनलाई बलिउड फिल्म उद्योगले ‘काली’ भनेर खूब अपमान गरेको थियो। छालाको रङका कारण उनले धेरै ठाउँमा हेला र भेदभाव भोग्नुपर्‍यो। तर, उनले हिम्मत हारिनन्। अभिनय क्षमतालाई निखार्दै लगिन्। उनले १ सय ८० भन्दा बढी फिल्ममा काम गरिन् र चार दशक बलिउडमा राज गरिन्। 

मिथुन चक्रवर्ती 

 

मिथुन चक्रवर्तीले सन् १९७६ मा आफ्नो पहिलो फिल्म ‘मृगया’बाट नेसनल अवार्ड प्राप्त गरेका थिए। उनको बेजोड अभिनयको सबै प्रशंसा गर्थे, तर कमर्सियल फिल्ममा उनले राम्रो भूमिका पाएनन्। कारण थियो– उनको कालो वर्ण। छालाको रङका कारण उनले पनि इन्डस्ट्रीमा निकै अपमान बेहोर्नुपर्‍यो। निर्माता केसी बोकाडियाले एक अन्तर्वार्तामा भनेका थिए, ‘सन् ८० को दशकमा मैले उनलाई फिल्म ‘प्यार झुकता नहीं’मा कास्ट गरेको थिएँ। उनी ‘डिस्को डान्सर’ बाट प्रसिद्ध भइसकेका थिए। तर, थुप्रै लगानीकर्ता रोमान्टिक फिल्ममा मिथुनलाई हिरो लिन चाहँदैनथे। केहीले त मलाई यहाँसम्म भने– ‘हिरो त गोरो हुन्छ, कालो पनि हुन सक्ला तर तिम्रो हिरो त निलो छ।’’ 

‘प्यार झुकता नहीं’ सुपरहिट भयो। जसलाई मिथुन कालो र निलो लाग्थ्यो, त्यसपछि भने उनीहरूलाई उनी ‘टल, डार्क एन्ड ह्यान्डसम’ लाग्न थाले। 

स्मिता पाटिल 

महिलाको सुन्दरताका निम्ति गोरोपन अनिवार्य शर्त हुने बलिउडले स्मिता पाटिलजस्ती कालो वर्णकी अभिनेत्रीलाई होच्याउने नै भयो। तर, उनको प्रतिभाले इन्डस्ट्रीलाई मुखभरिको जवाफ दियो। उनले ‘आर्ट मुभी’मा मात्र होइन, कमर्सियल फिल्ममा पनि अभिनयको बेजोड उदाहरण प्रस्तुत गरिन्। 

प्रतिक्रिया