काठमाडौं– काठमाडौंमा अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित रोडलाइन प्यालेस होटेलमा पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाई राख्ने तीनजना मंगलबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर–५ का फपेन्द्र न्यौपाने, कास्की माछापुच्छ्रे–७ का शिवबहादुर घर्ती र जुम्लाको तिला गाउँपालिका–८ का धनराज वस्नेत छन् । शिवबहादुर घर्ती रोडलाइन प्यालेस होटेलका सञ्चालक हुन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अपहरणमा परेका पूर्णबहादुर बोहरालाई सकुशल उद्दार गरेको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।