काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध

राम्रो अनलाइन     १५ फागुन २०८२, शुक्रबार
काठमाडौँमा सार्वजनिक ठाउँमा भेला भएर होली मनाउन निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल गरेको छ ।

निर्वाचनको आचार संहिता र सुरक्षा संवेदनशीलताको कारण जनाउँदै प्रशासनले यस वर्षको होलीमा कडा प्रतिबन्धहरू लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनाअनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै(झगडा गर्ने, र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल नपुर्‍याउन भनिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनको छ ।

यसपटकको होली निर्वाचनको समयसँग जोडिएकोमा निर्वाचन आचारसंहिता पालनामा सीडीओ कार्यालयको जोड छ । होलीमा कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

कोही कसैलाई बाधा नपर्ने गरी आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तजनसँग मात्र होली मनाउन प्रशासनको आग्रह छ । खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मादक पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

प्रतिक्रिया