खोटाङमा भूकम्पपछि १०६ सामुदायिक विद्यालय पुनः निर्माण

राम्रो अनलाइन     १८ चैत २०७७, बुधबार

खोटाङ । महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो । 

भूकम्पपछि अस्थायी रूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको इकाइ प्रमुख बाबुराम पोखरेलले बताए ।  गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको छ । 

गैससले अब दुई वटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय निर्माण भएका छन् । जिल्ला कार्यान्वयन इकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ । 

निर्माण सम्पन्न गर्न बाँकी भवनहरूको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने इकाइ प्रमुख पोखरेलले जानकारी दिए । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ । 
 

प्रतिक्रिया