कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

राम्रो अनलाइन     १७ मंसिर २०८१, सोमबार
कर्णालीले दियो जनकपुरलाई १४२ रनको लक्ष्य

 

काठमाडाैं – कर्णाली याक्सले नेपाल प्रिमियर लिगको आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिविक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४१ रनको योफल तयार पार्यो।

कर्णालीका लागि कप्तान सोमपाल कामीले १३ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए । यसैगरी अर्जुन घर्ती, गुल्शन झा, शिखर धवन र बाबर हायतले पनि दोहोरो अंकमा रन जोडे । जनकपुरका लागि मोहम्मद मोहसिनले दुई तथा जिमी निसम, ललितनाराण राजवंशी, हर्ष थाकर र किशोर महतोले समान एक विकेट लिए ।

दोस्रो ओभरको दोस्रो बलमा ललितनाराण राजवंशीले देव खनाललाई बोल्ड गरे । देव एक रन बनाएर पेभेलियन फर्किए । पाँचौं ओभरको दोस्रो बलमा हर्ष थाकरले जनकपुरलाई दोस्रो सफलता दिलाए । उनले १४ बलमा तीन चौकाको मद्दतले १४ रन बनाएर खेलिरहेका शिखर धवनलाई बोल्ड गरे । सातौं ओभरको अन्तिम बलमा चाडविक वाल्टन मोहम्मद मोहसिनको शिकार बने । आठ रन बनाएर खेलिरहेका उनी एलबीडब्ल्युको धरापमा परे । आठौं ओभरको चौथो बलमा जनकपुरले चौथो सफलता हात पर्यो । जिमी निसमले जिसन मक्सुदलाई रनको खाता पनि खोल्न नदिइ एलबीडब्ल्युको शिकार बनाए । 

मोहसिनले १४औं ओभरको दोस्रो बलमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं विकेट लिए । उनले १२ रन बनाएका बाबर हायतलाई निसमबाट क्याच गराए ।  किशोर महतोले जनकपुरलाई छैटौं सफलता दिलाए । उनले २७ बलमा तीन चौका र एक छक्काको मद्दतले ३६ रन बनाएर खेलिरहेका गुल्शन झालाई बोल्ड गरे । अन्तिम ओभरको चौथो बलमा अर्जुन घर्ती रन आउटको शिकार बने । उनले २२ बलमा समान दु्ई चौका र छक्काको मद्दतले ३३ रन प्रहार गरे । 

प्रतिक्रिया