‘क्यामेराअगाडि गाडी चलाउँदा आत्तिएँ’

जयन सुब्बा मानन्धर     २१ जेठ २०७८, शुक्रबार
‘क्यामेराअगाडि गाडी चलाउँदा आत्तिएँ’

मैले नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा त्यतिखेर त्यतिविधि फिल्म बन्दैनथे । १४ वर्षको उमेरमा फिल्म जगत्मा छिरेँ । फिल्म के हो ? कस्तो हुन्छ ? केही थाहा थिएन । आठ कक्षामा पढ्थेँ । त्यतिबेला हिरोइन बन्ने न मेरो इच्छा थियो, न सपना । प्रकाश अधिकारी दाइ र म एउटै टोलमा बस्थ्यौँ । उहाँ फिल्म बनाउने सोचमा हुनुहुन्थ्यो । मलाई देखेपछि फिल्म अफर गर्नुभयो । दिदीसँग ‘स्क्रिन टेस्ट’का लागि गएँ । त्यसमा पास भएपछि ‘सन्तान’ फिल्ममा काम गर्ने मौका पाएँ । फिल्ममा मेरो ‘नेगेटिभ’ भूमिका थियो । एउटा श्रीमती, जो आफ्नो श्रीमान्सँग खुशी नभएकाले अर्को पुरुषसँग सम्बन्ध राख्न खोज्छे । 

सन्तोष तामाङ दाइले मेकअप गरिदिनुहुन्थ्यो । हेभी मेकअप हुन्थ्यो । लामो बनाएर गाजल लगाइदिनुहुन्थ्यो । त्यो मन पर्दैनथ्यो । फिल्मका लागि नारायणघाटमा ड्राइभिङ गर्नुपर्ने थियो । मलाई जंगलमा लगेर ड्राइभिङ सिकाइयो । छिट्टै सिकेँ पनि । तर, पहिलो पटक क्यामेराअगाडि गाडी चलाउँदा आत्तिएँ । ब्रेक ब्यालेन्स गर्न नसकेर घरको भित्तामा हानिदिएछु । नरमाइलो लाग्यो । फिल्म खेल्नु चानचुने कुरा होइन भन्ने महसुस भयो । त्यतिबेला फिल्म खिच्दा रिलवाला क्यामरा प्रयोग हुन्थ्यो । धेरै पटक ‘रिटेक’ दिँदा बढी रिल जान्थ्यो । त्यसको पनि ख्याल गर्नुपथ्र्यो । 
फिल्ममा भुवन केसी हिरो थिए । फिल्म रिलिज भएपछि दर्शकले मन पराए । त्यसपछि अरू फिल्मका लागि पनि अफर आउन थाले । 


 

प्रतिक्रिया