क्यानडामाथि नेपालको रोमाञ्चक जित

राम्रो अनलाइन     २५ माघ २०८०, बिहिबार
क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ– नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो। नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै पराजीत भएको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय २४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले जोडेका थिए । उनले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाएका थिए । खेलमा ४८ रन बनाउँदा नेपालले पहिलो विकेटको रुपमा आशिफ शेखलाई गुमाउनुपरेको थियो। सुरुवाती ब्याट्सम्यान आशिफ २४ बलमा आठ रन जोड्दै आउट भए । उनी नौ ओभर एक बलमा उदय भागवानको बलमा नवनीत धलिवालबाट क्याच आउट भएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नेपाली टोलीका कप्तान रोहित पौडेल आठ रनमा आउट भएका थिए । उनी १४ ओभर तीन बलमा ईश्वर ज्योति सोहीको बलमा हर्ष थेकरबाट क्याच आउट भएका थिए। नेपालले तेस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । 

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । नेपालले क्यानडासँग दोस्रो खेल यही माघ २७ गते खेल्नेछ भने माघ २९ गते तेस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया