क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

राम्रो अनलाइन     २१ जेठ २०८२, बुधबार
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

चितवन– यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन् ।
 
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन् ।  पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे । उनले भने,‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने रु भनेर निःशुल्क सेवा सुरु गरेँ ।’ यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन् । उनले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएका छन् । 
 
उनले भने, ‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।’ पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैँले बस–बसमा गएर खबर गर्छन् । 
 
दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उनले लिन्छन् । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउछन् । त्यसो त अन्य समयमा उनले व्यावसायिक रूपमा अटो चलाउँछन र त्यही आम्दानीले परिवार चलाउदै आईरहेका छन् । 
 
विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको बताउँछन् । उनले भने, ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।’ सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरे ।  

प्रतिक्रिया