रुपन्देही, २८ साउन : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री कुलप्रसाद केसीसहित सात सदस्यीय मन्त्रिपरिषद्मा ग्रामीण तथा शहरी विकासमन्त्रीका रूपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीकामा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीकामा सहसराम यादवले सपथ लिएका छन् । अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेङ्गाले विनाविभागीय मन्त्रीकामा सपथ लिएकी छिन् । विभागीय मन्त्रीले आजैदेखि कार्यभार सम्हालेका छन् ।
काङ्ग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री भएका छन् । जनता समाजवादीका तर्फबाट ढेङ्गा र रायमाझीले मन्त्री पद पाएका छन् । स्वतन्त्र सांसद शाहीले पनि मन्त्रीको शपथ लिएका छन् । संविधानको धारा १६८ (२) अनुसार चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।