मेटगालामा आलियाको डेब्यु

एजेन्सी     १९ वैशाख २०८०, मङ्गलबार
मेटगालामा आलियाको डेब्यु

बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर विश्व फेसनको महाकुम्भ मेटगालामा डेब्यु गरेकी छन् । नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियासहित दर्जन हलिउड सेलिब्रिटीले समेत लगाए ।

रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् । यस वर्ष मेटगालाको थिम रहेको ‘कार्ल लेजरफेल्ड : अ लाइन अफ ब्युटी’ अनुरुप प्रबलले डिजाइन गरेको पोशाक लगाएर आलियाले रेडकार्पेटमा सौन्दर्य छरिन् । उनको यो पहिरनले सन् २०१९ मा ८५ वर्षको उमेरमा निधन भएका र आफ्ना आइकोनिक आउटफिटसहित दशकौं बिताएका दिग्गज फेसन डिजाइनरलाई श्रद्धासुमन दिन्छ ।

रेड कार्पेटमा जानुअघि आलियाले इन्स्टाग्राममा एक पोस्ट गरेर फ्यानलाई यसबारे जानकारी दिएकी थिइन् । तस्वीरमा सिल्हुट पहिरन लगाएकी उनले क्याप्सन लेखेकी थिइन्, ‘हेयर वी गो ।’ आलियाको पोशाकमा कम नेकलाइन र मोतीले बनेको चोली थियो, जबकि भुइँमा समेत फिंजारिएको रफल स्कर्ट पनि । यी अभिनेत्रीले आफ्नो कपाल र शृंगारमा समेत ध्यान दिएकी थिइन् । उनको दाहिने हातमा डायमण्ड ड्रप झुम्का र सेतो छालाको पञ्जा देख्न सकिन्थ्यो ।

मेटगालामा आलियाको पहिलो उपस्थिति हो । समारोहमा भारतीय अभिनेत्री प्रियंका चोपडा पनि सहभागी भएकी छिन् । मेटगालामा प्रियंकाको यो चौथोपटकको उपस्थिति हो । यसपटक प्रबलको डिजाइन लगाएर अमेरिकी गायिका रीता ओरा, केल्सी एसबिल, क्विन्टा ब्रन्सन, टाइका वाटिटी, अनोक याई लगायतले पनि मेटगालाको रेडकार्पेटमा आफ्नो सौन्दर्यको जादू छरेका छन् ।

प्रतिक्रिया