महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरेको  प्रहरीको आशंका

राम्रो अनलाइन     २८ माघ २०८०, आइतबार
महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरेको  प्रहरीको आशंका

काठमाडौँ– ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने  प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न साढे ४ बजे महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हामफालेकी थिइन्।उनी हामफालेको देखेर स्थानीयले उद्धार गरी किष्ट अस्पताल पुर्‍याएका थिए। स्थानीय घरभित्र जाँदा कोठामा रबिनाका दुई बच्चा पनि अचेत अवस्थामा थिए। 

६ वर्षीय छोरा र २ वर्षीया छोरी पनि कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनीहरूलाई राति नै प्रहरीले इमाडोलस्थित किष्ट अस्पतालमा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले सुरूमा दुबै बच्चालाई मृत घोषणा गरेको थियो।

हत्या गर्नुको कारण स्पष्ट भएको छैन । घरमा सुसाइड नोट वा अन्य कुनै संकेत पनि फेला परेको छैन । घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उक्त घटना हुँदा श्रीमान घरमा थिएनन्। घटना भएपछि उनी अस्पतालमा पुगेका हुन्। 

महिलाको हामफालेर मृत्यु भएको भन्नेमा प्रहरी निष्कर्शमा पुगेको छ। दुई बच्चाको मृत्यु कसरी भएको हो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ। आमाले नै दुई बच्चाको हत्या गरेर पछि चौथो तलाबाट हामफालेको हुनुपर्ने प्रहरीको आशंका छ।

प्रतिक्रिया