‘मिस वर्ल्ड’ ताजधारी  भारतीय सुन्दरी  

एजेन्सी     १९ जेठ २०७८, बुधबार
‘मिस वर्ल्ड’ ताजधारी  भारतीय सुन्दरी  

‘मिस वर्ल्ड’ को हालसम्म ७१ औँ संस्करण सम्पन्न भइसकेको छ । सन् १९५१ देखि हुन थालेको यो विश्वप्रसिद्ध सौन्दर्य प्रतियोगितामा सबैभन्दा बढी भारत र भेनेजुएलाका छ–छ जना सुन्दरीले ताज जितेका छन् । 


मानुषी चिल्लर

सन् २०१७ को ‘मिस वर्ल्ड’को ताज भारतीय मोडल मानुषी चिल्लरले पहिरिएकी थिइन् । प्रतियोगितामा सहभागी १ सय ८ देशका सुन्दरीमध्ये उनी उत्कृष्ट भएकी हुन् । 

चीनको सान्या शहरमा आयोजित मिस वल्र्ड प्रतियोगितामा उनी भारतको प्रतिनिधित्व गर्न पुगेकी थिइन् । प्रतियोगितामा एकपछि अर्को खुड्किलो चढ्दै पुगेकी उनलाई अन्तिम चरणको प्रश्नोत्तर सत्रमा सोधिएको थियो– ‘कुन पेशाले सबैभन्दा बढ्ता पैसा पाउनुपर्छ भन्ने तपाईंलाई लाग्छ ?’ 
उनको जवाफ थियो, ‘आमाहरू सबैभन्दा बढी सम्मानका हकदार हुन्छन् । तलबको कुरा गर्दा पैसाको मात्र कुरा गर्नु हुँदैन । कसैलाई दिइने माया र सम्मानको पनि उत्तिकै महत्व हुन्छ भन्ने मलाई लाग्छ । मेरी आमा मेरो जीवनको सबैभन्दा ठूलो प्ररणा बन्नुभयो । सबै आमाले आफ्ना सन्तानका निम्ति ठूलो त्याग गरेका हुन्छन् । त्यसैले सबैभन्दा बढी तलब पाउनयोग्य काम पनि आमाले नै गर्छन् भन्ने मलाई लाग्छ ।’ भारत, हरियाणाकी मानुषी मेडिकल विद्यार्थी हुन् । ‘मिस वल्र्ड बनेपछि अब बलिउडको ढोका तपाईंको निम्ति खुलेको छ, बलिउड प्रवेश गर्नुहुन्छ कि ?’ भनी गरिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘मिस वर्ल्ड भएपछि बलिउड पस्नैपर्छ भन्ने धारणाप्रति नै मेरो असहमति छ । मिस वल्र्डको ताज बलिउड मात्र नभई जुनसुकै क्षेत्रमा प्रवेश गर्ने खुड्किलो बन्न सक्छ ।’ 

प्रियंका चोपडा


बलिउड अभिनेत्री प्रियंका चोपडा सन् २००० मा बेलायत, लन्डनमा भएको ५० औँ मिस वर्ल्ड कन्टेस्टमा पहिलो भएकी थिइन् । भारतबाट मिस वल्र्डको ताज पहिरिने उनी पाँचौँ सुन्दरी हुन् । ९५ जना प्रतिस्पर्धीमध्येबाट उनी श्रेष्ठ ठहरिएकी थिइन् । 
मिस वर्ल्ड बनेपछि उनी मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गरिन् । सन् २००२ मा उनले तमिल फिल्म ‘थामिजान’मार्फत डेब्यू गरिन् । त्यसपछि बलिउडका अन्य फिल्ममा उनी क्रमशः अनुबन्धित हुँदै गइन् । ‘द हिरो’, ‘अन्दाज’ आदिमा काम गरिन् । त्यसपछि बलिउडमा उनको यात्रा निरन्तर उकालो लाग्दै गयो । ‘ब्ल्याकमेल’, ‘वक्त’, ‘हंगामा’, ‘कोई मिल गया’, ‘क्रिश’ हुँदै पछिल्लो पटक ‘मेरी कोम’ र ‘बाजिराव मस्तानी’सम्म आइपुग्दा उनी चर्चित र सफल बलिउड अभिनेत्रीमध्ये एक बन्न पुगिन् । अहिले उनी हलिउडमा आफ्नो भाग्य परीक्षण गरिरहेकी छिन् र यस क्रममा सुखद नतिजा पनि हासिल गरिरहेकी छिन् ।

युक्ता मुखी


सन् १९९९ मा लन्डनमा भएको ४९ औँ मिस वर्ल्ड प्रतियोगितामा भारतीय मोडल युक्दा मुखीले ताज पहिरिएक िथिइन् । भारतीय शहर बैंग्लोरनिवासी उनी त्यसयता मोडलिङ र अभिनय दुवैमा सक्रिय भए पनि खासै जम्न चाहिँ सकिनन् । 
मिस वर्ल्ड भएपछि उनले पनि फिल्म जगत्मा भाग्य परीक्षण गर्न चाहिन् । सन् २००१ म उनी अभिनीत फिल्म ‘पोभेलम उन भासम’ रिलिज भयो । यसले उनलाई तमिल फिल्मका दर्शकमाझ केही हदसम्म चिनायो । त्यसपछि उनले फिल्म ‘प्यासा’मार्फत बलिउडमा डेब्यू गरिन् । तर, यो फिल्म बक्सअफिसमा सुपरफ्लप भयो । त्यसपछि पनि उनले ‘मेमसाहेब’, ‘लभ इन जापान’ आदिमा काम गरिन् । तर, उनले अभिनय गरेका कुनै पनि फिल्म सफल भएनन् । यसले गर्दा उनी बिस्तारै फिल्म र मोडलिङ क्षेत्रबाट हराउँदै गइन् । पछिल्लो पटक सन् २००६ मा उनले एउटा म्युजिक भिडियोमा काम गरेकी थिइन् । 

डायना हेडेन 


भारतीय शहर हैदराबाद मूल घर भएकी भारतीय मोडल डायना हेडेन सन् १९९७ मा भएको मिस वर्ल्ड प्रतियोगितामा पहिलो भएकी थिइन् ।
मिस वर्ल्ड बनेपछि उनी नाटक अध्ययनका निम्ति बेलायत गइन् । नाटकको अभिनय र प्राविधिक पक्षबारे उनले अध्ययन गरिन् । खास गरी, नाटककार सेक्सपियरका नाटकको अभिनयमा उनले आफूलाई केन्द्रित गरिन् । सन् २००१ मा सेक्सपियरको नाटक ‘ओथेलो’माथि बनेको फिल्ममा काम गरिन् । प्राध्यापन पेशामा पनि उनी सरिक भइन् । अहिले उनी उड्डयन जगत्का कर्मचारीलाई पढाउने ‘सेलिब्रिटी गेस्ट लेक्चरर’ छिन् । सन् २००८ मा उनी भारतको रियालिटी टीभी सो ‘बिग बोस’मा प्रतिस्पर्धी बनिन् । उनले व्यक्तित्व विकास र आत्मविश्वाससम्बन्धी किताब ‘अ ब्युटिफुल गाइड’ पनि लेखेकी छिन् । 

ऐश्वर्या राय


ऐश्वर्या रायले कलेज जीवन सुरु हुनासाथ मोडलिङ सुरु गरेकी थिइन् । सन् १९९४ को मिस वल्र्ड प्रतियाुेगितामा उनी भारतको प्रतिनिधित्व गर्दैै प्रतिस्पर्धा गर्न पुगिन् र पहिलो भइन् । 
मिस वर्ल्ड भएपछि उनलाई अभिनय क्षेत्रमा एकपछि अर्को प्रस्ताव आउन थाल्यो । तमिल फिल्म ‘इरुभार’मा सन् १९९७ मा काम गरेपछि उनले बलिउडमा ‘और प्यार हो गया’ फिल्ममार्फत डेब्यू गरिन् । त्यसपछि उनले बंगाली फिल्ममा पनि काम गरिन् । सन् २००६ मा रिलिज भएको फिल्म ‘रेनकोट’ले उनलाई बलिउडमा सम्मानित स्थान दिलायो । त्यसयता उनले ‘मोहबतें’, ‘धुम–२’, ‘जोधा अकबर’, ‘रोबोट’, ‘ऐ दिल है मुश्किल’जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग बिहे गरेपछि पनि उनले अभिनय यात्रा जारी राखेकी छिन् ।

रिता फारिया 


रिता फारियाले भारतलाई पहिला पटक मिस वर्ल्डको ताज दिलाएकी थिइन् । सन् १९६६ मा बेलायतमा भएको मिस वल्र्ड प्रतियोगितामा उनी पहिलो भएकी थिइन् । भारत बेलायती उपनिवेश छँदा सन् १९४३ मा उनको जन्म भएको थियो । ७४ वर्षीया उनी हाल समाजसेवामा सक्रिय छिन् । पेशाले उनी चिकित्सक हुन् । मिस वल्र्डको ताज पहिरिएपछि चिकित्सक बन्ने उनी विश्वकै पहिलो मोडल हुन् । मिस वर्ल्ड भएको एक वर्षपछि उनले मोडलिङबाट आफूलाई अलग गरिन् र पढाइमा केन्द्रित भइन् । लन्डन गएर चिकित्साविज्ञान अध्ययन गर्न थालिन् र एमबीबीएस उत्तीर्ण गरिन् । त्यसपछि उनी मोडलिङसम्बन्धी कार्यक्रममा फाट्टफुट्ट सरिक हुन थालिन् । सन् १९९८ मा उनी मिस वर्ल्डको जजसमेत भएकी थिइन् । बेलायती नागरिकसँग बिहे गरेकी उनी अहिले आयरल्यान्डको राजधानी डब्लिनमा बस्छिन् । 

 
 

प्रतिक्रिया