काठमाडौँ– एसीसी प्रिमियर कप टी–२० प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। ओमानको अल अमरेत मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। साविक विजेता नेपाल मलेसियाविरुद्ध सुखद सुरुवात गर्ने योजनामा छ।
नेपाल प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ। एसीसी प्रिमियर कपको साविक विजेता नेपाललाई यसपटक उपाधि रक्षा गर्ने चुनौती छ।
नेपाली टोली भारतको गुजरातमा आयोजित एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर उतैबाट ओमान गएको हो। गुजरात र बरोडा क्रिकेट सङ्घ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो।