काठमाडौँ– दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।आगामी दशैंका लागि पनि अहिलेदेखि फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप भइरहेको छ । चारवटा फिल्मले अर्को दशैं रोजिसकेका छन् ।
दीपाश्री निरौलाको निर्देशन रहने ‘छक्का पञ्जा ५’, सन्तोष सेनले निर्देशन गर्न लागेको ‘बलिदान’, दिनेश राउतले निर्देशन गर्ने ‘गाउँ नै रमाइलो’पछि अब आकाश बराल र सजन काफ्लेको संयुक्त निर्देशन रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ पनि अर्को दशैंमा आउने तय भएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ फिल्मको वितरण अधिकार लिँदै अशोक शर्माले २०८१ को दशैंमा फिल्म प्रदर्शन हुने घोषणा गरेका हुन् ।
आगामी फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा खड्का, निश्चिल बस्नेत, विजय बरालले मुख्य भूमिकामा काम गर्दैछन् । ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको संयुक्त भेन्चरमा बन्न लागेको फिल्मको निर्मात्री स्वस्तिमा हुन् । शीर्षकले नै फिल्मको कथा मेघौली गाउँ (चितवन)मा आधारित रहेको बुझाउँछ ।