अहिलेका किशोर–किशोरी परिवारप्रतिको दायित्व र उमेरजन्य आनन्द कम लिइरहेका छन् । साथीभाइसँग गफगाफ, घुमफिर गर्ने क्रम कम हुँदै गएको छ । उनीहरू अभिभावकसँग हिजोका पुस्ताजति नजिकिन सकेका छैनन् ।
‘जेनेरेसन ग्याप’ बारे म २५ वर्षदेखि अध्ययन गरिरहेकी छु । हरेक पुस्ताका नयाँ विशेषता के हुन् र कस्ता व्यवहार उनीहरूले अघिल्लो पुस्ताबाट ग्रहण गर्छन् ? यो मेरो खोजीको मूल विषय हो ।
सन् २०१२ मा किशोर–किशोरीको व्यवहार तथा मानसिक अवस्थामा ठूलै परिवर्तन आएको मैले पाएँ । विगतका पुस्ताले निरन्तर ग्रहण गर्दै आएका विभिन्न व्यवहारलाई अहिलेको पुस्ताले त्यागिरहेको छ । सन् १९३० को दशकयता ठूलो परिवर्तन भइरहेको छ । स्मार्टफोनले यस्तो परिवर्तन ल्याइरहेको छ ।
मैले यहाँ भनिरहेको नयाँ पु
स्ताका सदस्य सन् १९९५ देखि २०१२ का बीचमा जन्मिएका हुन् । यो पुस्ता स्मार्टफोन, इन्टरनेट र सोसल मिडियासँगै हुर्किएको छ । उनीहरूभन्दा अघिको पुस्ता पनि इन्टरनेटसँगै हुर्किएको थियो । तर, स्मार्टफोनका कारण अहिलेको पुस्ताले चौबिसै घण्टा इन्टरनेट उपयोग गर्न पाएको छ ।
सुरुका वर्षमा स्मार्टफोनले किशोर–किशोरीलाई ‘स्क्रिन’ प्रति एकोहोरो बनाउँदै लैजान्छ भन्ने विश्लेषण मात्रै गरिएको थियो । तर, स्मार्टफोनले उनीहरूको सामाजिक जीवन, शारीरिक तथा मानसिक स्वास्थ्यमै असर गरिरहेको छ । स्मार्टफोनसँग हुर्किएका संसारभरिका युवाको हकमा यो कुरा लागू भएको छ ।
केही परिवर्तन सकारात्मक पनि छन् । हिजोका किशोर–किशोरी पार्टी, पिकनिक, बार, ड्राइभिङ आदिमा बढी जान्थे । अहिले चाहिँ प्रायः घरमै बसेर स्मार्टफोन, आइप्याड आदि चलाउँछन् । यसले गर्दा उनीहरू झैझगडा र ग्याङफाइटमा फस्ने, दुर्घटनामा पर्ने, रक्सीको अम्मली हुनेलगायत जोखिम घटेको छ । तर, उनीहरूको मानसिक अवस्था भने बिग्रिँदै गएको छ ।
सन् २०११ यता किशोर–किशोरी ‘डिप्रेसन’ र आत्महत्याको शिकार बन्ने क्रममा उल्लेख्य वृद्धि भएको छ । सहजै उपलब्ध हुने स्मार्टफोन र सामाजिक सञ्जालका कारण यस्ता खालका मानसिक समस्या उत्पन्न भएका हुन् भन्ने अनुसन्धानहरूबाट पुष्टि हुँदैछ ।
अमेरिकामा सन् १९७० को दशकतिर किशोर–किशोरी रक्सी र चुरोट धेरै खान्थे । साथीसँग मिलेर उनीहरू कारमा कतै जान्थे र स्वतन्त्रतापूर्वक रक्सी र चुरोट खान्थे । त्यसको लगभग १५ वर्षपछि उनीहरूमा चुरोटको ‘चार्म’ घट्यो । तर, स्वतन्त्रताको आकांक्षा चाहिँ कायम रह्यो । साथीहरूसँग घुम्न जाने, अभिभावकले भनेको कुरालाई बेवास्ता गर्ने, अभिभावकसँग घुम्न ननिस्कनेजस्ता स्वभाव बढ्यो ।
तर, अहिले किशोर–किशोरी अभिभावकबाहेक अरूसँग घरबाहिर निस्किन नचाहने बन्दै गएका छन् । घरबाहिर निस्किने उनीहरूको रुचि पनि घट्दै गएको छ । अमेरिकामा सन् २००८ मा कक्षा ८ मा पढ्ने विद्यार्थीहरू अहिले १२ कक्षामा पढ्नेभन्दा बढी घरबाहिर निस्किने गर्थे ।
प्रेमको सवालमा पनि नयाँ पुस्ता उदासीन बन्दै गएको छ । हिजो उनीहरू एकअर्कालाई प्रत्यक्ष देखेर मन पराउँथे । अहिले चाहिँ एकअर्कासँग च्याट गर्छन् । च्याटमार्फत केहीले डेटिङसम्मको यात्रा पनि तय गर्छन् । तर, समग्रमा डेटिङ जाने किशोर–किशोरीको संख्या घटिरहेको छ । सन् २०१५ मा भएको सर्वेक्षणअनुसार उच्च माध्यमिक तहमा अध्ययनरत ५६ प्रतिशत अमेरिकी किशोर–किशोरी डेटिङ जाने गर्छन् । यसअघिको पुस्तामा यो उमेर समूहका ८५ प्रतिशत डेटिङ जाने गर्थे ।
डेटिङप्रतिको उदासीनताले उनीहरूका यौन क्रियाकलापमा पनि गिरावट ल्याएको छ । यौन क्रियाकलापमा सक्रिय कक्षा ९ मा पढ्ने अमेरिकी विद्यार्थीको अनुपात अहिले सन् १९९१ को तुलनामा करिब ४० प्रतिशतले घटेको छ । अहिले औसतमा कक्षा ११ मा पुगेपछि किशोर–किशोरीले पहिलो पल्ट सेक्स गर्न थालेका छन् । यसअघिको पुस्ताले चाहिँ कक्षा १० मै यौनको स्वाद चाखिसकेको हुन्थ्यो । यौनप्रतिको यस्तो उदासीनताले राम्रो परिणाम पनि ल्याइरहेको छ । अहिले किशोरीले बच्चा जन्माउने क्रम इतिहासमै सबैभन्दा कम हुन पुगेको छ ।
अमेरिकामा हिजोका किशोरकिशोरीले ‘ड्राइभिङ लाइसेन्स’लाई व्यक्तिगत स्वतन्त्रताको मुख्य अस्त्र मान्थे । लाइसेन्स
बनाएपछि साथीसँगीसँग जहाँ मन लाग्यो, त्यहाँ घुम्न जान्थे । उच्च माध्यमिक तहको शिक्षा लिन थालेको केही समयमै अधिकांशले ड्राइभिङ लाइसेन्स बनाइसकेका हुन्थे । तर, अहिले यो क्रम घटेको छ । अहिले किशोर–किशोरीमा घरबाहिर निस्किनुपर्छ भन्ने सोच नै हट्न थालेको छ ।
आयआर्जनका काममा संलग्न हुने युवा पनि घटेका छन् । सन् १९७० को दशकमा उच्च माध्यमिक तह पढ्दै गर्दा ७७ प्रतिशतले आयआर्जनको काम गरेको अनुभव संगालेका हुन्थे भने अहिले यस्तो दर घटेर ५५ प्रतिशतमा आइपुगेको छ ।
अहिलेका तन्नेरी परिवारप्रतिको दायित्व र उमेरजन्य आनन्द कम लिइरहेका छन् । अर्थतन्त्रको ढाँचा, बालबालिकाको लालनपालनको फेरिँदो शैली आदिले पनि यसलाई निर्धारण गरिरहेका छन् । छोराछोरीलाई ‘पार्ट टाइम’ काममा लगाउनुको सट्टा घरमा छोडेर आमाबुबा काममा जाने क्रम बढिरहेको छ । किशोर–किशोरीले पनि यस्तो परिवर्तनलाई खुशी भएर स्विकारिरहेका छन् । उनीहरूलाई घरमा स्मार्टफोनले व्यस्त बनाइरहेको छ । यसले गर्दा साथीभाइसँग गफगाफ, घुमफिर गर्न कम हुँदै गएको छ ।
सन् १९९० को दशकको तुलनामा अहिलेका किशोर–किशोरी खेलकुद, अन्तरक्रिया आदिमा कम व्यस्त हुन थालेका छन् । यस अर्थमा उनीहरू अझ फुर्सदिला हुँदै गएका छन् । फुर्सदिलो समयलाई उनीहरूले स्मार्टफोन चलाएर बिताइरहेका छन् ।
अहिलेका किशोर–किशोरी घरमा बढी समय बिताउँछन् । यस अर्थमा उनीहरू आमाबाबुसँग बढी समय बिताउँछन् । तर, पनि उनीहरू अभिभावकसँग हिजोका पुस्ताजति नजिकिन सकेका छैनन् ।
अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अन ड्रग एब्युज’ले अमेरिकाभरिका किशोर–किशोरीलाई समेटेर सन् १९७५ यता मत सर्वेक्षण गर्दै आएको छ । सर्वेक्षणका क्रममा उनीहरू कति खुशी छन्् र स्क्रिनयुक्त उपकरण चलाउनबाहेक खेलकुद, साथीभाइसँग प्रत्यक्ष अन्तरक्रियालगायत काममा कति समय खर्चन्छन् भनी सोध्ने गरिएको छ । पछिल्ला वर्षमा चाहिँ सामाजिक सञ्जाल, वेबसाइट आदि चलाउन कति समय खर्चिने गरेका छन् भन्ने पनि सोध्न थालिएको छ । सर्वेक्षणको निष्कर्षको सन्देश प्रस्ट छ ।
स्क्रिनमा बढी घोत्लिने तन्नेरीले आफूहरू दुःखी भएको बताएका थिए । स्क्रिनयुक्त उपकरण चलाउनमा भन्दा पनि अन्य क्रियाकलापमा बढी समय दिनेहरू बढी खुशी छन् भन्ने सर्वेक्षणका क्रममा पाइएको छ ।
अन्य अनुसन्धानले पनि स्क्रिन चलाउनु र खुशी हुनुबीच विपरीत सम्बन्ध हुने देखाएका छन् । कतिपय मत सर्वेक्षणले चाहिँ बेखुश मानिसले स्मार्टफोन र सोसल मिडिया बढी चलाउने गरेको तथ्य बाहिर ल्याएका छन् ।
भनिन्छ– सामाजिक सञ्जालले मानिसलाई एकअर्कासँग जोड्छ । तर, दुर्भाग्य, सामाजिक सञ्जालले एक्लो अनुभव गर्ने पुस्ता जन्माइरहेको छ । सामाजिक सञ्जाल बढी प्रयोग गर्नेले बढी एक्लोपन महसुस गर्छन् भन्ने चाहिँ होइन ।
सामाजिक सञ्जालको प्रयोग र साथीसँगीसँग प्रत्यक्ष भेटवार्ता दुवै बढी गर्ने किशोर–किशोरी चाहिँ दुवै क्षेत्रमा बढी ‘सामाजिक’ हुने गरेको पाइएको छ । यसको अर्थ के हो भने स्मार्टफोनमै बढी झुण्डिएर जसले प्रत्यक्ष अन्तरक्रियाका लागि ज्यादै कम समय छुट्याउँछन्, उनीहरूमा एक्लोपन र यसबाट सिर्जना हुने समस्या देखापर्ने सम्भावना बढी रहन्छ ।
डिप्रेसनको हकमा पनि यही कुरा लागू हुन्छ । स्मार्टफोन, ट्याबलेट, आइफोनलगायत स्क्रिनमा बढी व्यस्त हुनेमा डिप्रेसनको संकेत बढी भेटिने गरेको पाइएको छ । खेलकुद तथा धार्मिक कार्यक्रममा सहभागी हुने र बढी ‘होमवर्क’ गर्ने तन्नेरीमा चाहिँ डिप्रेसनका संकेत निकै कम पाइएका छन् ।
डिप्रेसनको प्रत्यक्ष सम्बन्ध आत्महत्यासँग हुन्छ । प्रतिदिन तीन घण्टा अथवा बढी समय इलेक्ट्रोनिक उपकरण चलाउने किशोर–किशोरीमा आत्महत्यासम्बन्धी जोखिम ३५ प्रतिशतभन्दा बढी हुने गर्छ । यस्तो जोखिममा आत्महत्याको योजना बनाउनु पनि पर्छ । तर, त्यति नै अवधि टीभी हेर्नेमा चाहिँ यस्तो जोखिम निकै कम हुन्छ । स्मार्टफोन र सामाजिक सञ्जालको विकाससँगै किशोर–किशोरीले आत्महत्या गर्ने क्रम पनि बढेको छ । हत्यामा संलग्न हुने यो उमेर समूहका सदस्यको संख्या चाहिँ घटेको छ ।
सन् २०११ मा किशोर–किशोरीको आत्महत्या दरले उनीहरू हत्यामा संलग्न हुने दरलाई उछिनेको थियो, जुन विगतका तथ्यांकका आधारमा आश्चर्यजनक थियो ।
स्मार्टफोन र अनेक खालका मानसिक समस्याबीच कस्तो सम्बन्ध छ त ? स्मार्टफोन बढी चलाउने किशोर–किशोरी सार्वजनिक तथा पारिवारिक जीवनमा कम सक्रिय हुन्छन् । एकाकीपन र आफूलाई अरूले वास्तै गर्दैनन् भन्ने सोचबाट उनीहरू ग्रस्त हुन्छन् । यस्तो प्रवृत्ति किशोरीमा अझ बढी हुन्छ । संयोग के छ भने सामाजिक सञ्जाल बढी चलाउने पनि किशोरी नै छन् । सामाजिक सञ्जालमा साथीसँगीले रमाइलो गर्दै गरेको तस्बिर हालेको देख्दा उनीहरूले आफूलाई वास्ता नगरिएको बढी सोच्ने गर्छन् ।
आफूले गरेका पोस्टमा ‘लाइक’ र ‘कमेन्ट’को अपेक्षा पनि बढी गर्छन् । अपेक्षा पूरा भएन भने निराश हुन्छ । सन् २०१२ बाट २०१५ सम्म आइपुग्दा किशोरहरूको आत्महत्या दर २१ प्रतिशतले वृद्धि भएको थियो भने किशोरीको दर दोब्बरले अर्थात् ५० प्रतिशतले वृद्धि भएको थियो । आत्महत्या गर्ने सवालमा पनि किशोरी नै अगाडि छन् । सन् २००७ को तुलनामा २०१५ मा अमेरिकाका १२ देखि १४ वर्षबीचका किशोरीहरूले आत्महत्या गर्ने क्रम तीन गुणाले बढेको छ भने किशोरहरूको हकमा चाहिँ दुई गुणाले बढेको थियो । यद्यपि, समग्रमा आत्महत्या दर चाहिँ किशोरहरूकै बढी छ।
एउटा किशोरले कुनै अर्को किशोरलाई शारीरिक रूपमा हमला गरेर बदला लिने जोखिम बढी हुन्छ । किशोरीहरूले चाहिँ अर्को कुनै किशोरीको सामाजिक जीवन अथवा कसैसँगको उसको सम्बन्धमा खलल पु¥याउने गरी सामाजिक सञ्जाललगायत अनलाइन माध्यमलाई बढी दुरुपयोग गर्छन् । यसले पनि स्मार्टफोन पुस्ताका किशोरी मनोवैज्ञानिक रूपमा बढी जोखिममा परेका छन् ।
किशोर–किशोरी राति अबेरसम्म स्मार्टफोन चलाउँछन् । त्यही भएर उनीहरू पर्याप्त निदाउन पाउँदैनन्, जबकि किशोरवयमा करिब नौ घण्टा अनिवार्य निदाउनुपर्छ । ओछ्यानमा पल्टिएपछि स्मार्टफोन चलाउँदा निदाउने क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ । बढी टीभी हेर्नेमा अनिद्राको समस्या तुलनात्मक रूपमा कम हुन्छ ।
बढी पढ्नेमा चाहिँ यस्तो सम्भावना असाध्यै न्यून हुन्छ । अनिद्राले किशोर–किशोरीको सोच्ने, तर्क गर्ने, रोगबाट बच्ने आदि क्षमतामा ह्रास ल्याउँछ । वजन र रक्तचाप बढ्ने समस्या चाहिँ थपिदिन्छ । यसले उनीहरूको मनस्थितिमा पनि असर पार्छ । पर्याप्त नसुत्नेलाई डिप्रेसन र ‘एन्जाइटी’ हुने जोखिम बढी हुन्छ । यसरी स्मार्टफोनको अनियन्त्रित प्रयोगबाट किशोर–किशोरीको शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रिँदै गएको छ ।
( अमेरिकी म्यागजिन ‘दी एटलान्टिक’बाट । मनोविज्ञानकी प्राध्यापक ट्वेन्जका ‘आईजेन’, ‘जेनेरेसन मी’ लगायत किताब प्रकाशित छन् ।)