पाँच वर्षदेखि रोकियो बाग्मती तीर्थयात्रा

राम्रो अनलाइन     ०१ जेठ २०८१, मङ्गलबार
पाँच वर्षदेखि रोकियो बाग्मती तीर्थयात्रा

 

काठमाडौँ– करिब पाँच हजार वर्षअघि नेमुनिले सुरु गराएको विश्वास गरिने वाग्मती तीर्थयात्रा पाँच वर्षदेखि हुनसकेको छैन । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताबारे चेतना जगाउन प्राचीनकालदेखि सुरु भएको वाग्मती तीर्थयात्रा विविध कारणले गर्दा रोकिने गरेको छ । 

प्रत्येक वर्ष वैशाख कृष्ण त्रयोदशीदेखि हुने वाग्मती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको हो । वैशाख कृष्ण त्रयोदशीदेखि करिब १५ दिनसम्म यो जात्रा गरिन्छ । विसं २०७७ र २०७८ मा कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । २०७९ र २०८० सालमा पनि तीर्थ गुरु बिरामी भएको भन्दै वाग्मती तीर्थ यात्रा स्थागित गरिएको थियो । यसवर्ष के कारणले तीर्थ यात्रा रोकिएको पशुपति क्षेत्र विकास कोषले स्पष्ट जानकारी गराएको छैन । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले यस विषयमा आफूलाई जानकारी नभएको बताउँदै संस्कृति महाशाखा प्रमुखलाई थाहा हुने बताए ।  कोषको संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीले भने आफू महाशाखा वैकल्पिक रुपमा हेर्ने गरी आएको २० दिनमात्र भएकाले यस विषयमा केही भन्न नसक्ने सुनाए । 
   
प्रत्येक वर्ष वैशाख शुक्ल र कृष्ण पक्षका १५ दिन गरिने यो यात्रा तीर्थ गुरुका रुपमा रहेका आगमघरका भट्टको स्वास्थ्य अवस्था बिग्रिएकाले विसं २०७९ र २०८० मा तीर्थ यात्रा गरिएको थिएन । कोषले २०७९ र २०८० सालमा तीर्थयात्राको नेतृत्व गर्नुहुने पशुपतिनाथ आगमघरका भट्ट मदन भट्ट नै बिरामी परेकाले तीर्थ यात्रा गर्न नसकिएको जानकारी गराएको थियो । 

दुवै वर्षको यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरुलाई नदिइएकाले यात्रा स्थागित गर्नुपरेको कोषले बताउने गरेको थियो । यसवर्ष भने कोषले किन जात्रा रोकिएको हो भन्ने कुनै जानकारी गराएको छैन । ‘ने’ मुनिले सुरु गरेको विश्वास गरिने वाग्मती तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि २०७४ सम्म बन्द भएको थियो । 

कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः सुरु भएको हो । करिब ४० वर्षपछि २०७५ सालमा सुरु भएर दुई वर्ष चलेको वाग्मती तीर्थयात्रा नभएको पाँच वर्ष भइसकेको छ । पूर्वसदस्य सचिव ढकालको सक्रियतामा विसं २०७५ र २०७६ मा वाग्मती तीर्थ यात्रा गरिएको थियो । 

तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले वाग्मतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । ४० वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैल्याउने उद्देश्यसमेत राखिएको थियो । 

कोषका कर्मचारी डा बरुण खतिवडाले विसं २०७५ र २०७६ मा वाग्मती तीर्थयात्राको कर्ताको भूमिका निर्वाह गरेका थिए ।  काठमाडौँ उपत्यकाभित्रका वाग्मती किनारका सबै तीर्थमा पैदल हिँडेर गरिने यो तीर्थ यात्राको मौलिकता हराउनु नहुने भन्दै संस्कृतिप्रेमीले माग गर्दै आएका छन् । संस्कृतिप्रेमीको यो मागमा कोषले भने खासै वास्ता नगरेको भन्दै आलोचना हुने गरेको छ ।

कलियुगको सुरुवाती चरणमा योगिनीको आदेशमा ने मुनिले पशुपति मन्दिरको संरक्षण गरेका थिए । त्यसैकालदेखि वाग्मती तीर्थयात्रा सुरु भएको विश्वास गरिन्छ । ने मुनिको नामबाट नेपालको नामकरण भएको स्कन्दपुराणमा उल्लेख गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताउँछन्।

प्रतिक्रिया