पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु 

राम्रो अनलाइन     १४ भदौ २०८१, शुक्रबार
पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु 


विराटनगर– पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो ।

आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको छ । विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो बस्तु पनि भेटिएको छ ।

त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल तर्फ गएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ । सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा थाहा हुने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

प्रतिक्रिया