‘फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ’

राम्रो अनलाइन     ०६ पुस २०८०, शुक्रबार
‘फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ’


काठमाडौँ–महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’ले लेख्नुभएको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उनले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्छ भने। 

‘बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत छ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । मैले त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ’, मन्त्री आचार्यले भने, ‘अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।’

कवि केसीले नाकको सहायताले लेखेको कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताए । ‘कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ’, अभिनेता हमालले भने। 

एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिए । ‘मलाई तपाईँहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु’, कवि केसीले लेखेको सन्देश उद्घोषकले पढेका थिए । उक्त अवसर कवितासङ्ग्रह बजारमा उपलब्ध भएको जानकारी गराइएको थियो ।
 

प्रतिक्रिया