जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार शानदार जित दर्ता गरेको छ । सोमबार भएको खेलमा उसले सुदूरपश्चिम प्रदेशविरुद्ध १८० रनको फराकिलो जित निकालेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो । जवाफमा ३०० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ११९ रन बनाउँदै अलआउट हुन पुग्यो ।
सुदूरपश्चिमका टप अर्डरका चार ब्याट्समेन शून्य रनमै आउट भए । उसले शून्य रनमा आफ्ना दुई ब्याट्समेन गुमाइसकेको थियो । त्यस्तै ४ रन हुँदा ५ ब्याट्समेन पेभिलियन फर्किसकेका थिए ।
पछि अर्जुन साउद, किरण ठगुन्ना र नारायण जोशीले इनिङ सम्हाले । नारायणले सर्वाधिक ४४ रन जोडे भने अर्जुनले ३१ रन बनाए । त्यस्तै किरणले २४ रन बनाए ।
सुदूरपश्चिमलाई धराशायी बनाउन बागमतीका रामनरेश गिरीले घातक बलिङ गरे । उनले ५ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट हात पारे । दिपेश श्रेष्ठ र तिलक भण्डारीको नाममा पनि १÷१ विकेट रह्यो । त्यस्तै बिपिन आचार्यले १ विकेट झारे ।
यसअघि ब्याटिङ गरेको बागमतीका लागि पृथु बास्कोटाले ८४ रन बनाए । उनले ९४ बलको सामना गर्दै २ छक्का र १० चौका हिर्काए । त्यस्तै ओपनर अदिल खानले १० चौकाको मद्दतमा ६३ रन जोडे । पारस खड्का २० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल ३२ रनमै पेभिलियन फर्किए ।
सुदूरपश्चिमका नारायणले ३ तथा भोजराज भट्ट र सन्तोष भट्टले २÷२ विकेट लिए ।
जितसँगै बागमतीले लगातार शानदार जित निकालेको छ । आइतबार भएको खेलमा उसले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो ।
यसैबीच आजै भएको अर्को खेलमा प्रदेश १ माथि गण्डकी प्रदेशले जित निकालेको छ । गण्डकी प्रदेश १ लाई २ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले जितका लागि १०३ रनको लक्ष्य दिएको थियो । झिनो लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।
दुई खेल खेलेको गण्डकीको यो पहिलो जित हो । समान खेल खेलेको प्रदेश १ ले भने लगातार हार व्यहोरेको छ ।