विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल प्रतियोगिता उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा गण्डकीले राष्ट्रिय खेलाडीको बाहुल्यता भएको आर्मीलाई ३-२ सेटमा हराउँदै उपाधि कब्जा गरेको हो ।
निकै रोचक बनेको खेलमा घरेलु टोली गण्डकीले पहिलो, तेस्रो र पाँचौं सेटमा आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो ।
पहिलो सेटमा घरेलु टोली गण्डकीले आर्मीलाई २५–२२ हराएको थियो । एक समय पहिलो सेटमा आर्मीले ६ अंकको अग्रता लिएको थियो । १८–१२ को अवस्थाबाट गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ जितसम्म पुगेको थियो ।
दोस्रो सेटमा आर्मीले गण्डकीलाई २५–२१ ले हराएको थियो । सुरुवाती समय ४ अंकको अग्रता लिए पनि गण्डकीले दोस्रो सेट गुमाउन पुग्यो । तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । तेस्रो सेटमा गण्डकीले आर्मीलाई ३२–३० ले हराएको थियो । आर्मी लगातार चार पटक सेट नजिक पुगेर पनि असफल भएको थियो ।
चौथो सेटमा आर्मीले गण्डकीलाई २५–२३ ले हराएपछि फाइनल थप रोमाञ्चक बन्न पुगेको थियो । आर्मीले एक समय ६ अंकको अग्रता लिएको थियो । गण्डकीले १८–१२ को अवस्थाबाट उत्कृष्ट प्रर्दशन गर्दै २२–२१ को अवस्थामा पुर्याएको थियो । गण्डकीले लगातार दुई अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको थियो । यो सेट पनि आर्मीले आफ्नो पक्षमा पारेको थियो ।
निर्णायक फाइनल सेटमा गण्डकीले आर्मीलाई १५–११ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती ४ अंकको अग्रता लिएको थियो । आर्मीले उत्कृष्ट प्रर्दशनका साथ ९–९ को अवस्थामा पुर्याएको थियो । त्यसपछि भने गण्डकीले लगातार अंक जोड्दै च्याम्पियन बन्न सफल भएको हो ।
विजेता गण्डकीले १ लाख ५० हजार प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाएको आर्मीले ७५ हजार प्राप्त गर्यो ।